काठमाडौँ। नेपाली फेसन र कला क्षेत्रलाई विश्वस्तरमा पहिचान गराउने उद्देश्यका साथ आयोजना हुन लागेको ‘नेपाल टू भियतनाम अन्तर्राष्ट्रिय फेसन विक’मा मोनु शाहले नेपालको तर्फबाट शक्तिशाली प्रतिनिधित्व गर्ने भएका छन्।
उक्त गौरवमय अन्तर्राष्ट्रिय मञ्चका लागि शाहलाई ‘अन्तर्राष्ट्रिय निर्णायक’ तथा ‘राष्ट्रिय निर्देशक’को महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।
नेपाल र भियतनामबीचको सांस्कृतिक सम्बन्ध र नेपाली प्रतिभालाई विश्वसामु उजागर गर्ने यो यात्रा केवल एउटा पद वा जिम्मेवारी मात्र नभएर नेपालको प्रतिष्ठा र राष्ट्रिय गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने एउटा ऐतिहासिक अभियान बन्ने विश्वास लिइएको छ।
आफ्नो नयाँ जिम्मेवारी र यात्राबारे उत्साह व्यक्त गर्दै शाहले यो अभियान समर्पण, नेतृत्व, दूरदृष्टि र अथक प्रयासको प्रतिफल भएको बताएका छन्। नेपाली प्रतिभा र संस्कृतिको मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ प्रस्तुत गर्दै नयाँ पुस्ताका सपनाहरूलाई विश्वस्तरमा पुर्याउन आफू निरन्तर लागिपर्ने उनको भनाइ छ।
लामो समयदेखि फेसन जगतमा सक्रिय रहँदै आएका शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, “यो केवल मेरो व्यक्तिगत यात्रा होइन, यो सम्पूर्ण नेपालको सम्मान, पहिचान र गौरवको यात्रा हो ।”






























