काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी त्रिकोणात्मक शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ गरिएको हो।
नेदरल्यान्ड्समा जुलाई २१ देखि सुरु हुने महत्त्वपूर्ण शृङ्खलाअघि नेपाली टोली विशेष तयारीका लागि बेलायती टापु जर्सी प्रस्थान गर्नेछ। क्यानका अनुसार नेपालले जर्सीको ‘एनसीसी ग्रेनभिल’ मैदानमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ।
यस अभ्यास भ्रमणका क्रममा नेपालले घरेलु टोलीसँग जुलाई १३ र जुलाई १५ मा दुईवटा एकदिवसीय अभ्यास खेल समेत खेल्ने तालिका छ । नेपाली क्रिकेटको इतिहासमा टोली १८ वर्षपछि जर्सी जान लागेको हो। यसअघि सन् २००८ मा नेपालले जर्सीमै विश्व क्रिकेट लिग डिभिजन-५ खेलेको थियो, जहाँ नेपाली बलर महबुब आलमले मोजाम्बिकविरुद्ध एक्लै १० विकेट लिएर विश्व कीर्तिमान रचेका थिए।
जर्सीको विशेष प्रशिक्षण र अभ्यास खेल सकिएलगत्तै नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। जुलाई २१ देखि सुरु हुने यस त्रिकोणात्मक शृङ्खलामा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।
कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय मुख्य टोली र ५ जना वैकल्पिक खेलाडीहरूको सूची तय भएकाे छ । घोषित टोलीको उपकप्तानमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् । टोलीको ब्याटिङ सम्हाल्न कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, भीम सार्की र युवा ब्याटर अर्जुन कुमाललाई समावेश गरिएको छ । पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रभाव जमाएका ईशान पाण्डे र अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारीले पनि मुख्य टोलीमा स्थान बनाउन सफल भएका छन् ।
टोलीको अलराउन्ड विभागमा दीपेन्द्र सिंह ऐरीसँगै तीव्र गतिका बलर गुल्शन झा, करण केसी र सोमपाल कामी रहेका छन् । त्यसैगरी स्पिन बलिङतर्फ अनुभवी लेग–स्पिनर सन्दीप लामिछाने र देब्रेहाते स्पिनर ललित राजवंशीले मुख्य टोलीमा स्थान पाएका छन् भने तीव्र गतिका बलर नन्दन यादवले पनि १५ सदस्यीय टोलीमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
मुख्य टोलीसँगै क्यानले ५ जना वैकल्पिक खेलाडीहरूको पनि घोषणा गरेको छ । वैकल्पिक सूचीमा साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरा रहेका छन् ।






























