काठमाडौं । सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा शिक्षा तथा खेलकुद मन्त्रालयले यस अवधिमा सम्पादित मुख्य-मुख्य कार्य र प्राप्त उपलब्धिको विवरण सार्वजनिक गरेको छ । २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्मको अवधिमा मन्त्रालयले आम नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सुशासन, सेवा प्रवाहमा सुधार, दलीय हस्तक्षेपको अन्त्य तथा पूर्वाधार विकासमा रणनीतिक फड्को मारेको जनाएको छ ।
सेवा प्रवाहमा सुशासन र चुस्तता
मन्त्रालयले ‘डेलिभरी-बेस्ड गभर्नेन्स’को अवधारणा लागू गर्दै परीक्षा नियन्त्रण र नतिजा प्रकाशनको कार्यलाई निश्चित समयसीमा भित्र बाँधेको छ । अबदेखि माध्यमिक शिक्षा परीक्षाको नतिजा परीक्षा सकिएको एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालयहरूको नतिजा ६५ दिनभित्र प्रकाशन गर्ने अभ्यास प्रारम्भ गरिएको छ ।
यस्तै, वैदेशिक अध्ययन अनुमति-पत्र प्रणालीलाई थप सबल बनाउन त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग एपीआई लिंक स्थापना गरिएको छ भने बिदाको दिनमा समेत एनओसी र शैक्षिक प्रमाणीकरणको सेवा सुचारु गरिएको छ । सेवाग्राहीलाई राहत दिँदै आवश्यक कागजात पुगेका कक्षा १० र १२ का विद्यार्थीहरूलाई अनलाइन प्रणालीमार्फत आवेदन दिएकै दिन समकक्षता प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ४० हजार ४१३ जनालाई एनओसी प्रदान गरिएको छ भने २१२ वटा ‘हेलो सरकार’ का गुनासाहरू पूर्ण रूपमा फर्स्योट गरिएका छन् ।
दलीय राजनीतिक हस्तक्षेपको अन्त्य
मन्त्रालयले विश्वविद्यालयहरूमा लामो समयदेखि चल्दै आएको दलीय हस्तक्षेप रोक्न कडा कदम चालेको छ । अबदेखि कुनै पनि विश्वविद्यालयमा विद्यार्थी सङ्गठनहरूले प्रयोग गर्ने गरी भवन वा जमिन उपलब्ध नगराउने नीति अख्तियार गर्दै भौतिक सङ्केतहरू हटाइएको छ । साथै, स्वच्छ र प्रतिस्पर्धात्मक सिद्धान्तका आधारमा सबै विश्वविद्यालय र स्वायत्त निकायहरूमा पदाधिकारी छनोटको कार्य अन्तिम चरणमा पुर्याइएको छ ।
प्राथमिक तहका विद्यार्थीहरूको आवधिक परीक्षाबाट सिर्जना हुने मनोवैज्ञानिक त्रास हटाउन कक्षा ५ सम्म ‘निरन्तर मूल्याङ्कन प्रणाली’ अवलम्वन गर्दै ‘विद्यार्थी मूल्याङ्कन मार्गदर्शन, २०८३’ लागू गरिएको छ । विविध कारणले जन्मदर्ता नभएका बालबालिकाहरूलाई स्थानीय तहको प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने र स्नातक तहसम्म अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालय अनुदान आयोगमार्फत विशेष कार्यविधि जारी गरिएको छ ।
यस्तै, त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदामा गएर तोकिएको समयमा नफर्की नियम मिच्ने ४०० प्राध्यापकहरूमाथि कारबाही अघि बढाइएको छ, जसमध्ये करिब १३ करोड रुपैयाँ राजस्व फिर्ता भइसकेको र बाँकी २ अर्ब असुल गर्ने प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।
विपद् व्यवस्थापन र भौतिक पूर्वाधारमा तीव्रता
पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावित जिल्लाहरूमा विद्यालय व्यवस्थापन समितिमार्फत १०८ वटा कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् भने १७० वटा निर्माणको चरणमा छन् । बझाङ, जाजरकोट र रुकुम पश्चिमका क्षतिग्रस्त विद्यालयहरूमा पक्की तथा अर्धपक्की भवन र शौचालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्राकृतिक विपद्का कारण भत्किएका ६९ वटा विद्यालयमा दुईकोठे पक्की वा ट्रस भवन निर्माणको काम द्रुत गतिमा भइरहेको छ ।
खेलकुद र स्काउटिङमा नयाँ उत्साह
खेलकुद क्षेत्रतर्फ, स्थगित भएको ‘मिसन २०२६’ को विशेष प्रशिक्षण २०८३ जेठ १ गतेदेखि पारा गेम्ससहित ५ खेलका ५९ खेलाडी र प्रशिक्षकहरू समावेश गरी पुनः सुचारु गरिएको छ । जेठ महिनामा काठमाडौँमा सफलतापूर्वक ‘काभा वुमन्स नेसन्स लिग -2025’ आयोजना गरिएको छ, जसमा नेपालसहित ८ देशको सहभागिता रहेको थियो । साथै, जेठ २० देखि २२ सम्म सम्माननीय राष्ट्रपतिबाट समुद्घाटित राष्ट्रिय प्रतियोगितामा ७ वटा प्रदेशका ६८६ खेलाडीले उत्साहजनक सहभागिता जनाएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र वीर हस्पिटलबीच भएको सम्झौता बमोजिम २७ जना खेलाडी, प्रशिक्षक र कर्मचारीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ । उता, नेपाल स्काउटले यस अवधिमा ५ हजार ८०६ जना स्काउट स्वयंसेवकहरूलाई विभिन्न राष्ट्रिय दिवस र मेला-पर्वहरूमा परिचालन गरी सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।






























