काठमाडौं । नेपालमा विदेशी सिनेमाका पारखीहरू छन्। त्यसमा पनि भारतीय सिनेमामा ओइरिने दर्शकहरू बढी छन्। जुन फिल्महरू रिलिज हुँदा दर्शकहरू हल पुग्न तछाडमछाड गर्छन्।
अझ चर्चित स्टारको फिल्म आउँदा त दर्शकहरू बिहानदेखि मध्यरातिसम्म हलसम्म पुग्छन्। यस्तो क्रेज देखेर वितरकले महँगो रकम तिरेर हलिउड र बलिउड फिल्म नेपाल ल्याउँछन्। जसले नेपाली बक्सअफिसमा राम्रै व्यापार गरेका छन्।
हलिउडको चर्चित श्रृंखला ‘अवतार’ देखि बलिउड तथा दक्षिण भारतीय फिल्महरूले नेपालमा आक्रामक व्यापार गरेको देखिन्छ। तर, यस रिपोर्टमा भने सर्वाधिक कमाइ गर्ने शीर्ष १० वटा विदेशी फिल्महरू समावेश गरिएको छ।
चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार शीर्ष १० मा १२ करोडदेखि २४ करोडसम्म कमाउने फिल्महरू परेका छन्। रोचक के छ भने धेरै कमाउने १० सूचीमा सबै भारतीय फिल्महरू मात्रै परेका छन्। त्यसमध्ये पनि साउथ फिल्मकै दबदबा देखिन्छ।
पुष्पा २
अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ धेरै कमाउने विदेशी फिल्मको पहिलो नम्बरमा छ। ५ डिसेम्बर २०२४ मा रिलिज भएको यस फिल्मले नेपालमा २४ करोड ४६ लाख २७ हजार ८९७ ग्रस कलेक्सन गरेको थियो। यस फिल्मका ८ लाख ५२ हजार ४८६ टिकट बिक्री भए।
१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा द राइज’ सुपरहिट भएको थियो। जसकारण पनि दोस्रो सिक्वेलमा दर्शकहरुको क्रेज व्यापक देखियो। सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दाना, फहाद फाजिल, धनञ्जय, राव रमेश, सुनील, अजय घोषलगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
बाहुबली २
धेरै कमाउने विदेशी फिल्मको दोस्रो स्थानमा प्रभास अभिनीत दक्षिण भारतीय फिल्म ‘बाहुबली: द कन्क्लुजन’ रहेको छ। सन् २०१७ मा रिलिज भएको यस फिल्मले नेपालमा २० करोड कमाएको वितरक कम्पनी गोपीकृष्ण मुभिजले जनाएको थियो।
२०७५ साउन १ गतेदेखि नेपालमा बक्स अफिस प्रणाली लागू भएको हो। त्यसअघि नै यो फिल्म रिलिज भएकाले चलचित्र विकास बोर्डमा भने व्यापारको आकडा भने छैन। एसएस राजामौली निर्देशित यस फिल्ममा प्रभाससहित तमन्ना, अनुष्का सेट्टी, नासिर, सत्यराज, राम्या कृष्णन र राना दग्गुबतीको अभिनय छ। यो फिल्म सन् २०१५ मा प्रदर्शन भएको हिट फिल्म ‘बाहुबली’ को दोस्रो भाग हो।
केजीएफ: च्याप्टर २
त्यसैगरी, दक्षिण भारतीय फिल्म ‘केजीएफ: च्याप्टर २’ सर्वाधिक कमाइ गर्ने तेस्रो विदेशी फिल्म हो। यस फिल्मले नेपाली बक्सअफिसमा १९ करोड ८० लाख १८४ हजार ९९ कमाएको छ। त्यस्तै, फिल्मका ६ लाख ९७ हजार ९९४ टिकट बिक्री भएका छन्।
प्रशान्त नील निर्देशित यो फिल्म सन् २०२२ अप्रिल १४ मा रिलिज भएको थियो। यस फिल्ममा यशसहित सञ्जय दत्त, रविना टण्डन, श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय छ। कन्नड भाषाको यस फिल्मको अघिल्लो पार्ट ‘केजीएफ’ ले पनि बक्सअफिसमा आक्रामक कमाइ गरेको थियो।
आरआरआर
जुनियर एनटीआर र रामचरण स्टारर ‘आरआरआर’ सर्वाधिक कमाइ गर्ने फिल्मको चौथो स्थानमा छ। यस फिल्मले १७ करोड १२ लाख ४२ हजार ६५० ग्रस कलेक्सन गरेको छ। सन् २०२२ मार्च २५ मा रिलिज भएको यस फिल्मका ६ लाख १७ हजार ११ टिकट बिक्री भएका छन्।
यो फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको हो। फिल्ममा जुनियर एनटीआर र रामचरणसहित आलिया भट्ट र अजय देवगनको अभिनय छ।
एनिमल
रणवीर कपुर अभिनीत बलिउड फिल्म ‘एनिमल’ पाँचौँ नम्बरमा छ। सन् २०२३ डिसेम्बर १ मा रिलिज भएको यस फिल्मले नेपाली बक्सअफिसमा १६ करोड ५६ लाख ३८ हजार ७८३ ग्रस कलेक्सन गरेको छ। यस फिल्मलाई ५ लाख ५६ हजार ८६४ जना दर्शकले हेरेका छन्।
सन्दीप रेड्डी वांगाको लेखन र निर्देशन रहेको यो फिल्म क्राइम ड्रामा जनरामा बनेको छ। यस फिल्मले छोराको बुवाप्रतिको आशा र बाबुछोराको सम्बन्धको उतारचढावलाई कथामा समेटेको छ। फिल्ममा रणवीरसहित रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल, तृप्ति डिमरी लगायतको अभिनय छ।
जवान
शाहरुख खानको मुख्य भूमिका रहेको फिल्म ‘जवान’ धेरै कमाउने फिल्मको छैटौँ नम्बरमा छ। सन् २०२३ सेप्टेम्बर ७ मा रिलिज भएको यस फिल्मले नेपालमा १४ करोड ३५ लाख ६९ हजार १९१ व्यापार गरेको छ। यस फिल्मका ४ लाख ७६ हजार ९८७ टिकट बिक्री भएका छन्।
यस फिल्ममा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोण छन्। एटलीद्वारा निर्देशित फिल्म गौरी खान र गौरव बर्माले निर्माण गरेका हुन्।
धुरन्धर: द रिभेन्ज
रणवीर सिंह स्टारर ‘धुरन्धर’ नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको सातौँ स्थानमा छ। सन् २०२६ मार्च २० मा रिलिज भएको यस फिल्मले बक्सअफिसमा १३ करोड ३९ लाख ८३ हजार ८१६ रुपैयाँ कमाएको छ। त्यस्तै, यस फिल्मका ३ लाख ९७ हजार ५३२ टिकट बिक्री भएका छन्।
‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। आदित्य धर निर्देशित फिल्ममा रणवीरसहित सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ। सन् २०२५ डिसेम्बर ५ मा रिलिज भएको ‘धुरन्धर’ ले नेपालमा साढे १० करोड ग्रस कलेक्सन गरेको थियो।
पठान
शाहरुख खानकै अर्को फिल्म ‘पठान’ नेपालमा धेरै कमाउने फिल्मको आठौँ स्थानमा छ। २५ जनवरी २०२३ मा रिलिज भएको यस फिल्मले नेपालमा १३ लाख ३३ हजार ७५ हजार ७०० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मका ४ लाख ४० हजार ९३६ टिकट बिक्री भएका छन्।
कोरोना कहरपछि रिलिज भएको यस फिल्मबाट दर्शकहरु हलसम्म तान्न सफल भएको थियो। ‘पठान’ प्रदर्शन भएसँगै बन्द भइसकेका नेपालका ६ हलहरु पुनः सञ्चालन भएका थिए।
सिद्धार्थ आनन्द निर्देशित फिल्ममा शाहरूखसहित दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। यसै फिल्मबाट शाहरुखले ठूलो सफलता हात पारे। किनकि सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि यो शाहरूखको कमब्याक फिल्म थियो।
कल्की २०९८ एडी
प्रभास अभिनीत दक्षिण भारतीय फिल्म ‘कल्की २०९८ एडी’ नवौं स्थानमा छ। यस फिल्मले जम्मा १२ करोड ५८ लाख ८३ हजार ४९२ ग्रस कलेक्सन गरेको छ। सन् २०२४ जुन २३ मा रिलिज भएको थियो। यस फिल्मलाई ३ लाख ६५ हजार ३४१ जना दर्शकले हेरेका छन्।
यस फिल्ममा प्रभाससहित दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। नाग आश्विनको निर्देशनमा बनेको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।
कान्तारा अ लेजेन्ड: च्याप्टर वन
ऋषभ शेट्टी अभिनीत साउथ फिल्म ‘कान्तारा अ लेजेन्ड: च्याप्टर वन’ दसौँ नम्बरमा छ। सन् २०२५ मा रिलिज भएको यस फिल्मले नेपालमा १२ करोड ३५ लाख ३३ हजार ५१५ रुपैयाँको व्यापार गरेको छ। यस फिल्मका ३ लाख ८३ हजार १३८ टिकट बिक्री भएका छन्।
यस फिल्ममा ऋषभ शेट्टीको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा ऋषभसहित गुलशन देवैया, जयराम र रुक्मिनी वसन्तको मुख्य भूमिका छ। दैवीय शक्तिमाथि आधारित यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘कान्तारा’को प्रिक्वेल हो।






























