अर्जेन्टिनाको कमजोरीमा इजिप्टलाई मौका

अर्जेन्टिनाको कमजोरीमा इजिप्टलाई मौका

केन्द्रबिन्दु
60
Shares

कान्सास सिटी । अर्जेन्टिना र इजिप्ट मंगलबार एटलान्टामा अन्तिम १६ को चरणमा भिड्दै छन्। त्यसको ठीक अगाडि दुवै टिम चर्को मानसिक र शारीरिक परीक्षाबाट गुज्रिएका थिए। त्यसैले दुवैले आरामको अवसर नै पाएका छैनन्। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेलाई ३–२ ले हराउन अतिरिक्त समयको खेल आवश्यक परेको थियो। अझ इजिप्टले त अस्ट्रेलियाविरुद्ध पूरा १ सय २० मिनेटको खेल खेलेको थियो।

निर्धारित र अतिरिक्त समयको खेल बराबरीमा टुंगिएपछि इजिप्ट पेनाल्टी शुटआउटमा ४–२ ले विजयी रहेको थियो। यी खेलले दुवै टिमलाई आफ्नो टिमको कमजोरी पक्ष सोच्न बाध्य पारेको छ, विशेषतः अर्जेन्टिनालाई। यसपल्टको विश्वकपमा अर्जेन्टिना पहिलो पटक केप भार्डेविरुद्ध दबाबमा देखिएको थियो र टोलीका कमजोरीबाट पनि फाइदा उठाउन सकिन्छ भने प्रमाणित भएको थियो।

समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको लियोनल स्कोलानीको टिमले केप भार्डेविरुद्ध गरेको संघर्षमा एक खाले प्रश्न उठेको छ। यसले जिज्ञासा राखेको छ, अर्जेन्टिना यही एक खेलमा मात्र चुकेको हो कि टिममै साँच्चै कमजोरी छ? अर्जेन्टिनाका पूर्व खेलाडी सर्जियो अगुइरोले यस्तै प्रश्न उठाएका छन्। उनी भन्छन्, ‘टिमले निकै कम समयको आराम पाएको छ र यो चिन्ताको विषय हो।’

उनका अनुसार अर्जेन्टिनाका अधिकांश खेलाडी शारीरिक रूपमा थाकेका मात्र छैनन्, समस्याबाट पनि गुज्रिरहेका छन्। उनी थप्छन्, ‘इजिप्ट आफैंमा शारीरिक रूपमा बलियो टिम हो र यो स्तरको आधारमा केप भार्डेभन्दा अगाडि छ।’ स्वयं लियोनल मेसीले पनि केप भार्डेविरुद्धको खेलपछि आफू थाकेको प्रतिक्रिया दिएका थिए। उनका अनुसार लगातार तीव्र गतिमा खेल्न गाह्रो हुन्छ।

केप भार्डेको बहादुरीपूर्ण प्रदर्शनले कसैलाई सबैभन्दा बढी उत्साही बनाएको छ भने त्यो इजिप्टलाई हो। उत्तरी अफ्रिकी देश धेरै अर्थमा एक खेलाडीमा निर्भर हुनेछ। उनी मोहम्मद सलाह हुनेछन्। अर्का प्रमुख खेलाडी ओमर मरमोसले पनि इजिप्टका लागि आफ्नो खेलमा सुधार गर्नुपर्नेछ।

इजिप्टका लागि सलाह कति पूर्णतः फिट छन्, त्यो पनि उत्तिकै महत्त्वपूर्ण रहनेछ। अस्ट्रेलियाविरुद्धको खेलमा उनी केही संघर्षरत रहेका थिए। अर्जेन्टिनी मिडफिल्डर लियानार्दो पार्डेस भन्छन्, ‘इजिप्टविरुद्धको खेल पक्कै पनि सजिलो हुने छैन। अहिले हामी विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेलिरहेका छौं र यसमा सहभागी हुने सबै देश स्तरका आधारमा उत्तिकै बलिया छन्। इजिप्ट पनि मानसिक र शारीरिक रूपमा बलियो छ ।’ यो खेल जित्ने टिमले स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुने खेलको विजेता टिमको सामना गर्नुपर्नेछ।

Logo