नेटो सदस्य राष्ट्रले तत्काल रक्षा बजेट बढाउनुपर्ने ट्रम्प प्रशासनको चेतावनी

नेटो सदस्य राष्ट्रले तत्काल रक्षा बजेट बढाउनुपर्ने ट्रम्प प्रशासनको चेतावनी

केन्द्रबिन्दु
18
Shares

वासिङ्टन । अमेरिकाले उत्तर एटलान्टिक सन्धी (नेटो) सदस्य राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च तत्काल बढाउन कडा चेतावनी दिएको छ । टर्किएको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व सन्ध्यामा आइतबार अमेरिकी अधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् । यस नीतिले गर्दा मंगलबारबाट सुरु हुने शिखर सम्मेलनमा नेटो गठबन्धनभित्र तनावको वातावरण सिर्जना हुने जोखिम छ ।

सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरुको चेतावनी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबद्धताअनुसार रक्षा खर्च नबढाएको भन्दै लामो समयदेखि नेटो सदस्य राष्ट्रहरुको आलोचना गर्दै आएका छन् ।

यसअघि ट्रम्पको जोडबलमा गत वर्ष नेदरल्यान्डसको हेगमा भएको सम्मेलनका दौरान नेटोका सदस्य देशहरुले सन् २०३५ सम्म आफ्नो कुल ग्राहस्थ उत्पादन (जीडिपी) को ५ प्रतिशत रकम सुरक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए । तर, धेरै देशहरु उक्त प्रतिबद्धता पूरा गर्ने बाटोमा निकै पछि परेको अमेरिकी अधिकारीहरुको निष्कर्ष छ ।

यसै साता बेलायती प्रधानमन्त्री सर किअर स्टार्मरले रक्षा बजेट १५ अर्ब पाउण्डले वृद्धि गर्ने घोषणा गरेका थिए । यो वृद्धिका बाबजुद सन् २०२९ सम्ममा बेलायतको रक्षा खर्च कुल जीडीपीको २.७ प्रतिशत मात्र पुग्ने देखिन्छ ।

नेटोका लागि अमेरिकी राजदूत म्याट ह्वाइटेकरले आइतबार राति भने, ‘केही सहयोगी राष्ट्रहरूले अरूभन्दा बढी काम गरिरहेका छन् । पोल्याण्ड, नोर्डिक देशहरू र बाल्टिक देशहरू यसमा अग्रपङ्क्तिमा छन् ।’ उनले थपे, ’तर, धेरै देशहरू पछि परेका छन् । सबै सहयोगी राष्ट्रहरूले तत्काल प्रभावकारी कदम चाल्ने राष्ट्रपति ट्रम्पको अपेक्षा छ । उनीहरूलाई सकेसम्म चाँडो ५ प्रतिशतको लक्ष्य पूरा गर्ने बाटोमा लैजानुपर्ने आवश्यकता छ ।’

बेलायती सञ्चारमाध्यम द टेलिग्राफमा प्रकाशित समाचारअनुसार ट्रम्पले नेटो सदस्य राष्ट्रहरूले गर्ने रक्षा खर्चको आधारमा उनीहरूलाई पुरस्कार दिने वा दण्ड दिने योजना बनाइरहेका छन् ।

विशेषज्ञहरूका अनुसार ट्रम्प प्रशासनको यो कडा अडानले नेटोभित्रको शक्ति सन्तुलन र सुरक्षा रणनीतिमा ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना छ । मंगलबार सुरु हुने सम्मेलन बुधबारसम्म चल्नेछ । सम्मेलनका दौरान ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीसँग विशेष भेटघाट गर्नेछन् । बुधबार हुने उक्त भेटमा रुस–युक्रेन युद्धका विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।

जेलेन्स्कीले रुसविरुद्धको लडाँइमा हतियार तथा मिसाइल सहयोग गर्नका लागि अमेरिका तथा युरोपेली देशहरुलाई आग्रह गर्दै आएका छन् । ट्रम्पले शिखर सम्मेलनकै दौरान सिरियाली राष्ट्रपति अहमद अल–सारासँग पनि भेट गर्ने योजना बनाएका छन् ।

ट्रम्पले लेबनानमा हिजबुल्लाहसँग लड्न सिरियाले अझ ठूलो भूमिका खेल्ने बताउँदै आएका छन् । यद्यपी, साराले आफुलाई यस विषयमा कुनै चासो नभएको बताउँदै आएका छन् । अमेरिकी राष्ट्रपतिले सम्मेलनका आयोजक टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि विशेष भेट गर्ने योजना बनाएका छन् । ट्रम्पसँग उनको पनि राम्रो सम्बन्ध छ ।

तर, उनले अन्य नेताहरूसँग दुईपक्षीय बैठकको योजना बनाएका छैनन् । पछिल्लो समय युरोपेली नेताहरुसँग ट्रम्प सम्बन्ध खासै राम्रो छैन । यसअघि गत जुनको मध्यमा फ्रान्समा भएको शिखर सम्मेलनबाट फर्किएलगत्तै ट्रम्पले युरोपेली नेताहरुको आलोचना गरेका थिए ।

किअर स्टार्मरले बेलायतको प्रधानमन्त्रीबाट औपचारिक रुपमा राजीनामा गर्नुअघि नै ट्रम्पले उनको राजीनामा आउने खुलासा गरेका थिए । त्यस्तै, जी ७ सम्मेलनका दौरान इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आफूसँग तस्बिरका खिच्नका लागि निकै कर गरेको दाबी पनि ट्रम्पले गरे । मेलोनीले यसको कडा खण्डन गरिन् र इटालीका विदेश मन्त्रीको अमेरिका भ्रमण नै रद्द भयो ।

ग्रिनल्यान्डबारे दिएको अभिव्यक्तिका कारण डेनमार्क ट्रम्पसँग चिढिएको छ । गत महिना ट्रम्पलाई भर्साइल्सको दरबारमा भव्य डिनर दिएका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोसँग पनि विगतमा ट्रम्पको सम्बन्ध चिसिएको थियो । ट्रम्पले इरान युद्धमा नेटो सहयोगीहरुले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् । सन् १९४९ मा स्थापना भएको नेटोमा अहिले ३२ राष्ट्र सदस्य छन् ।

Logo