चिनियाँ प्रविधिको उदयले बदलिँदै अन्तरिक्ष दौड, अमेरिकालाई कडा चुनौती

चिनियाँ प्रविधिको उदयले बदलिँदै अन्तरिक्ष दौड, अमेरिकालाई कडा चुनौती

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । चीनकी पहिलो गैरसैनिक महिला अन्तरिक्षयात्री लाई काई–यिङ यतिबेला चीनको ‘तियानगोङ’ अन्तरिक्ष स्टेसनमा दुई अन्य चिनियाँ अन्तरिक्ष यात्रीसँगै दैनिक १६ पटक पृथ्वीको परिक्रमा गरिरहेकी छन् ।

तियानगोङ अन्तरिक्षमा वैज्ञानिक अनुसन्धानका लागि निर्माण गरिएको एक अत्याधुनिक प्रयोगशाला हो, जसले मानव जातिको भविष्यका लागि नयाँ सम्भावनाहरू खोल्ने उद्देश्य राखेको छ ।

आजको उड्डयन तथा अन्तरिक्ष विज्ञान फेरि एकपटक वैचारिक प्रतिस्पर्धाको केन्द्रमा पुगेको छ । यसले २०औँ शताब्दीको मध्यतिर अमेरिका र सोभियत संघबीच भएको अन्तरिक्ष दौडको सम्झना दिलाउँछ । तर, २१औँ शताब्दीको यस प्रतिस्पर्धामा अमेरिकाको मुख्य प्रतिद्वन्द्वी रूस नभई चीन बनेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो ऐतिहासिक अनुसन्धान केन्द्र ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन’ लाई सन् २०३२ सम्ममा सेवामुक्त (अवकाश) गर्ने योजना बनाएको छ । त्यसो भयो भने अन्तरिक्षमा स्थायी रूपमा चालक दल सञ्चालन गर्ने चीन विश्वको एक मात्र देश बन्नेछ ।

विश्वविख्यात वैज्ञानिक जर्नल ‘नेचर’का अनुसार अन्तरिक्ष अनुसन्धानमा मात्र होइन, विश्वका धेरै प्रविधि क्षेत्रमा पनि चीनले अग्रणी स्थान हासिल गरिसकेको छ । नेचर इन्डेक्सको पछिल्लो प्रतिवेदनअनुसार उत्कृष्ट अनुसन्धान गर्ने देश तथा संस्थाहरूको सूचीमा चीन पहिलो स्थानमा पुगेको छ भने अमेरिका र जर्मनी पछि परेका छन् ।

संसारका शीर्ष १० अनुसन्धान संस्थामध्ये ९ वटा चीनका रहेका छन् भने अमेरिकाको हार्वर्ड विश्वविद्यालय तेस्रो स्थानमा सीमित भएको छ । जर्मनीको प्रतिष्ठित अनुसन्धान संस्था ‘म्याक्स प्लांक सोसाइटी’ (एमपीजी) १३औँ स्थानमा परेको छ ।

एमपीजीकी प्रवक्ता क्रिस्टिना बेकले भनिन्, “अहिले तपाईंले जुनसुकै विश्वव्यापी र्‍यांकिङ हेर्नुभए पनि धेरैजसो क्षेत्रमा चीनका विश्वविद्यालय र अनुसन्धान संस्थाहरू नै अगाडि छन् ।”

नेचर इन्डेक्सका अनुसार जीवविज्ञान, रसायनशास्त्र, भौतिकशास्त्र तथा अन्य प्रयोगात्मक विज्ञानका क्षेत्रमा चिनियाँ संस्थाहरू स्पष्ट रूपमा अगाडि छन् । स्वास्थ्य तथा सामाजिक विज्ञानमा भने अमेरिकी संस्थाहरू चीनभन्दा अगाडि रहेका छन् । जर्मन रिसर्च फाउन्डेसनका सूचना व्यवस्थापन निर्देशक रिचर्ड हेड्लरका अनुसार विगत दुई दशकमा चीनको यो उदय निरन्तर र योजनाबद्ध रूपमा भएको हो ।

सन् २००० को प्रारम्भिक चरणमा चीनले शोधपत्रहरूको संख्या बढाउनमा जोड दिएको थियो भने पछिल्लो दशकमा अन्तर्राष्ट्रिय रूपमा अत्यधिक उद्धृत हुने गुणस्तरीय शोधपत्रहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

यसको मुख्य कारण चीनले आफ्ना वैज्ञानिक संस्था र विश्वविद्यालयहरूमा वर्षौंदेखि गर्दै आएको ठूलो लगानी हो । विशेष गरी अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्नु तथा विशाल अनुसन्धान पूर्वाधार निर्माण गर्नु यसको सफलताको प्रमुख आधार बनेको छ ।

चीनका नेताहरूले प्रविधिलाई राष्ट्रिय विकासको मुख्य आधार मानेका छन् । चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) ले देशको नवप्रवर्तन क्षमतालाई थप विस्तार गर्ने लक्ष्य राखेको छ ।

बेइजिङको रणनीतिअन्तर्गत ‘नयाँ उत्पादक शक्ति’ को विकासमा जोड दिइएको छ, जसमा कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि, आणविक संलयन, जैव प्रविधि, ब्रेन–कम्प्युटर इन्टरफेस तथा गहिरो समुद्र र अन्तरिक्ष अन्वेषणजस्ता भविष्यका प्रमुख उद्योगहरू समावेश छन् ।

नयाँ पुस्ताको चन्द्र अभियानलाई लिएर चीन र अमेरिकाबीच तीव्र प्रतिस्पर्धा छ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानवसहितको अभियान पठाउने प्रतिबद्धता जनाएको छ ।

अर्कोतर्फ, नासाले सन् २०२८ मा चन्द्रमाको दक्षिणी ध्रुवनजिक मानिस अवतरण गराउने आफ्नो ‘आर्टेमिस’ अभियान निर्धारित समयमै पूरा गर्न सक्छ कि सक्दैन भन्ने अझै निश्चित छैन, किनकि स्पेससुट र ल्यान्डर कार्यक्रमहरू निर्धारित समयभन्दा पछाडि धकेलिएका छन् ।

चीनले भविष्यको अन्तरिक्ष यात्रालाई ध्यानमा राख्दै चन्द्रमामा स्थायी आधार शिविर स्थापना गर्ने योजना पनि अघि बढाएको छ । चन्द्रमाको पृथ्वीबाट नदेखिने भागबाट चट्टानका नमुना ल्याउने चीन विश्वकै पहिलो र हालसम्मको एक मात्र देश हो । अहिले ती नमुनामाथि चन्द्रमामा मानव बस्ती स्थापना गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको छ ।

भूराजनीतिक तथा वैचारिक मतभेदका कारण सन् २०११ को ‘वुल्फ संशोधन’ अन्तर्गत अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई चीनको अन्तरिक्ष एजेन्सीसँग कुनै पनि प्रकारको सहकार्य गर्न प्रतिबन्ध लगाइएको छ ।

युरोपेली अन्तरिक्ष एजेन्सीले पनि चीनसँगको सहकार्य सीमित गरेको छ । केही वर्षअघि इसाका अन्तरिक्ष यात्रीहरूले चिनियाँ भाषा सिकेर चिनियाँ ‘ताइकोनट’हरूसँग संयुक्त तालिमसमेत लिएका थिए ।

यद्यपि, सैन्य जोखिम नभएका क्षेत्रमा भने युरोपेली देशहरूले सहकार्यलाई निरन्तरता दिन चाहेका छन् । उदाहरणका लागि, चीनको गुइझोउ प्रान्तमा रहेको ५०० मिटर व्यासको विश्वकै सबैभन्दा ठूलो ‘फास्ट’ रेडियो टेलिस्कोप प्रयोग गर्न युरोपेली वैज्ञानिकहरूले अझै पनि पहुँच पाएका छन् ।

चिनियाँ साझेदारहरूसँगको सहकार्य अहिले राजनीतिक तनाव तथा नागरिक र सैन्य अनुसन्धानबीच बढ्दो अन्तरसम्बन्धका कारण थप चुनौतीपूर्ण बन्दै गएको छ । तर, चीनले प्रविधिलाई आफ्नो विदेश नीतिको प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिरहेको छ ।

हङकङकी नागरिक लाई काई–यिङले तियानगोङ अन्तरिक्ष स्टेशनमा आफ्नो अभियान पूरा गरेपछि चीनले आगामी अक्टोबरदेखि पहिलोपटक विदेशी अन्तरिक्षयात्रीलाई छोटो अवधिका लागि आफ्नो अन्तरिक्ष स्टेसनमा राख्ने तयारी गरेको छ । यसका लागि पाकिस्तानका दुईजना उमेदवार हाल चीनमा तालिम लिइरहेका छन्, जसमध्ये एकजनालाई अन्तरिक्षमा पठाइनेछ ।

Logo