चीनले ईभीमा जस्तै रोबोट्याक्सीमा पनि विश्वव्यापी सफलता दोहोर्‍याउन सक्ने

चीनले ईभीमा जस्तै रोबोट्याक्सीमा पनि विश्वव्यापी सफलता दोहोर्‍याउन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चीनको बेइजिङस्थित यिझुआङमा चालकविहीन सवारीसाधन देखिनु सामान्य बनेको छ । साधारण गाडीहरूसँगै सडकमा रोबोट्याक्सी गुडिरहेका छन् भने स्वचालित डेलिभरी भ्यानहरू तोकिएको मार्ग हुँदै सामान ढुवानी गरिरहेका देखिन्छन् ।

यो क्षेत्र चीनको स्वचालित ड्राइभिङ प्रविधिको प्रमुख परीक्षणस्थलका रूपमा विकास भएको छ, जहाँ बाइडु, विराइड र पोनी डट एआईजस्ता कम्पनीहरूले निश्चित क्षेत्रमा व्यावसायिक रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेका छन् ।

रोबोट्याक्सी प्रयोग गर्न एउटा मोबाइल एपमार्फत गाडी बुक गर्नुपर्छ । केही मिनेटमै चालकको सिट खाली भएको गाडी आइपुग्छ । यात्रा सुरु भएको पुष्टि गरेपछि गाडीले बेइजिङको व्यस्त ट्राफिक, बस, साइकल, स्कुटर र पैदलयात्रीबीच सुरक्षित रूपमा आफ्नो यात्रा अघि बढाउँछ ।

यो प्रविधि अझै विकासकै क्रममा भए पनि चीनले विद्युतीय सवारी (ईभी) क्षेत्रमा जस्तै रोबोट्याक्सी उद्योगमा पनि विश्वव्यापी नेतृत्व कायम गर्न सक्ला भन्ने एउटा महत्वपूर्ण प्रश्न उठ्न थालेको छ ।

चीनका स्वचालित ड्राइभिङ कम्पनीहरूको सबैभन्दा ठूलो शक्ति त्यहाँको विकसित औद्योगिक इकोसिस्टम हो, जसले चीनलाई विश्वकै सबैभन्दा ठूलो ईभी बजार बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । अमेरिकी कम्पनी टेस्लाले आफ्ना धेरैजसो प्रविधि आफैँ विकास गर्ने मोडल अपनाएको छ । तर, चीनमा भने कार निर्माता र सफ्टवेयर कम्पनीबीच सहकार्यको प्रणाली विकसित भएको छ ।

बीवाईडी, चेरी, जिली र एसएआईसीजस्ता कम्पनीहरूले गाडी उत्पादन गर्छन् भने विशेषज्ञ सफ्टवेयर कम्पनीहरूले स्वचालित सञ्चालन प्रणाली विकास गर्छन् । रोबोट्याक्सीका लागि आवश्यक ब्याट्री, सेन्सर, चिप तथा कम्प्युटिङ प्रणाली चीनमै ठूलो परिमाणमा उत्पादन हुने भएकाले यहाँका कम्पनीहरूले तुलनात्मक रूपमा कम लागतमा नयाँ प्रविधि विकास गर्न सकेका छन् ।

चीनको इभी उद्योगमा देखिएको तीव्र नवप्रवर्तन र अनुकूलन क्षमताले रोबोट्याक्सी लगायत अन्य उच्च प्रविधि उद्योगलाई पनि बलियो आधार दिएको ब्रुकिङ्स इन्स्टिच्युसनका फरेन पोलिसी फेलो काइल चान बताउँछन् ।

चीन सरकारले विभिन्न सहरमा स्वचालित ड्राइभिङ परीक्षणका लागि सार्वजनिक सडक खुला गरिदिएको छ । यसले कम्पनीहरूलाई वास्तविक सडकमा प्रविधि परीक्षण गर्ने अवसर दिएको छ । बेइजिङजस्ता सहरमा बस, स्कुटर, साइकल, मोटरसाइकल र पैदलयात्रीको अत्यधिक चाप हुन्छ । यही जटिल ट्राफिकबाट संकलित विशाल तथ्यांकले स्वचालित ड्राइभिङ प्रणालीलाई अझ सक्षम बनाउन सहयोग पुर्‍याएको कम्पनीहरूको भनाइ छ ।

विराइडकी प्रमुख मार्केटिङ अधिकृत मेभ झाङका अनुसार चीनको विविध सडक वातावरणले सफ्टवेयर सुधारका लागि आवश्यक ठूलो मात्रामा तथ्यांक उपलब्ध गराएको छ । तर, विदेशी बजारमा चुनौती फरक प्रकारका छन् । मध्यपूर्वको अत्यधिक गर्मी, दक्षिणपूर्वी एसियाको भारी वर्षा तथा स्विट्जरल्यान्डजस्ता मुलुकको कठोर जाडोले स्वचालित गाडीको सेन्सर, क्यामेरा र ब्याट्रीको कार्यक्षमतामा असर पार्न सक्छ ।

रोबोट्याक्सी चीनको स्वचालित ड्राइभिङ योजनाको एउटा भाग मात्र हो । क्युक्राफ्टजस्ता कम्पनीहरूले यही प्रविधि यात्रुवाहक कार, सार्वजनिक बस तथा डेलिभरी सवारीमा समेत विस्तार गरिरहेका छन् । कम्पनीका अध्यक्ष जेम्स युका अनुसार उनीहरूको स्वचालित बस सेवा चीनका २० भन्दा बढी सहरमा सञ्चालनमा छ । अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार भइरहेको छ ।

रोबोट्याक्सीको विस्तारसँगै रोजगारीको विषय पनि बहसमा आएको छ । अमेरिकामा श्रमिक संगठनहरूले ट्याक्सी, ट्रक तथा डेलिभरी चालकहरूको रोजगारीमा असर पर्ने चेतावनी दिएका छन् । चीनले भने घट्दो श्रमशक्तिको समस्या समाधान गर्न स्वचालित प्रविधिलाई महत्त्वपूर्ण माध्यमका रूपमा अघि सारेको छ । राष्ट्रपति सी चिनफिङले कृत्रिम बुद्धिमत्ता र रोबोटिक्सलाई नयाँ आर्थिक वृद्धिको आधारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

यद्यपि, सुरक्षा चुनौती अझै कायम छ । यसै वर्ष बाइडुको ‘अपोलो गो’ सेवामा आएको सफ्टवेयर समस्याका कारण वुहानमा करिब १०० वटा रोबोट्याक्सी सडकमै रोकिएका थिए । केही यात्रु गाडीभित्रै फसेपछि सेवा केही समयका लागि निलम्बन गर्नुपरेको थियो । अमेरिकामा पनि जीएमको ‘क्रुज’ रोबोट्याक्सीले सन् २०२३ मा दुर्घटनापछि पैदलयात्रीलाई घिसारेको घटनापछि नियामक निकायले त्यसको सञ्चालन अनुमति निलम्बन गरेको थियो ।

विश्लेषकहरूका अनुसार रोबोट्याक्सीलाई ईभी कारसरह विश्वभर विस्तार गर्नु सहज हुने छैन । यसका लागि प्रत्येक देशमा नियामक स्वीकृति, विस्तृत डिजिटल नक्सा, स्थानीय सञ्चालन संरचना तथा जनविश्वास आवश्यक पर्छ ।

यसका साथै राष्ट्रिय सुरक्षाको विषय पनि ठूलो चुनौती बनेको छ । रोबोट्याक्सीहरूले सडक, क्यामेरा र स्थानसम्बन्धी ठूलो मात्रामा तथ्यांक संकलन गर्ने भएकाले धेरै देशले यसलाई सुरक्षा जोखिमका रूपमा समेत हेर्न थालेका छन् ।

Logo