हतारमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने रोनाल्डोको दाबी

हतारमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने रोनाल्डोको दाबी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्तिम–१६ बाटै टुंगिएको छ । स्पेनसँग १–० ले पराजित भएपछि ४१ वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको पुष्टि गरे पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने वा नलिनेबारे भने तत्काल निर्णय नगर्ने बताएका छन् ।

डलासमा सोमबार भएको खेलमा इन्जुरी समयको अन्तिम क्षणमा मिकेल मेरिनोले गरेको गोलले स्पेनलाई क्वाटरफाइनलमा पुर्‍याएको थियो । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले स्पेनले ‘थोरै भाग्य’को साथ गोल गरेको टिप्पणी गरे ।

‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःख लागेको छ । मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ । मैले सबै दिएँ र अहिले पनि मेरो अन्तर्मन शान्त छ,’ उनले भने ।‘यो मेरो अन्तिम विश्वकप थियो । अब म केही समय परिवारसँग बिताउनेछु र भविष्यबारे शान्त भएर सोच्नेछु । म कुनै पनि हतारको निर्णय गर्नेछैन ।’

रोनाल्डोले यो आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल थियो वा थिएन भन्ने प्रश्नको स्पष्ट उत्तर भने दिएनन् । टोलीको अभियानभन्दा आफ्नो व्यक्तिगत निर्णय ठूलो विषय बन्न नचाहेको उनको भनाइ थियो ।‘म भावनामा बगेर निर्णय गर्ने व्यक्ति होइन,’ उनले भने ।

रोनाल्डोले पोर्चुगलका लागि आफूले दिएको योगदानप्रति गर्व व्यक्त गरे । उनले आफ्नो कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोपियन च्याम्पियनसिप तथा २०१९ र २०२५ को नेसन्स लिग जितेको स्मरण गरे ।‘मैले पोर्चुगलका लागि तीन वटा उपाधि जितेको छु । क्रिस्टियानो रोनाल्डोअघि पोर्चुगलले कुनै पनि ठूलो उपाधि जितेको थिएन,’ उनले भने ।

उनले सन् २०१६ मा जितेको युरोपियन च्याम्पियनसिप आफ्नो लागि विश्वकप उपाधिसरह महत्वपूर्ण रहेको पनि बताए । विश्वकपबाट बाहिरिएसँगै मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पद छाड्ने घोषणा गरेका छन् । रोनाल्डोले मार्टिनेजको खुलेर प्रशंसा गर्दै उनी उत्कृष्ट प्रशिक्षक र असल व्यक्तित्व भएको बताए ।

‘उहाँसँग काम गर्न पाउँदा मलाई निकै राम्रो लाग्यो । उहाँ उत्कृष्ट प्रशिक्षक मात्र होइन, असाध्यै राम्रो व्यक्ति पनि हुनुहुन्छ । पोर्चुगलका लागि उहाँले गरेको योगदान प्रशंसायोग्य छ। उहाँको आगामी जीवन सुखद रहोस् भन्ने शुभकामना दिन चाहन्छु,’ उनले भने । रोनाल्डोले अन्त्यमा विश्वकपबाट बाहिरिनु निराशाजनक भए पनि टोलीले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे ।

‘यस्तो ढंगले बाहिरिनुपर्दा पीडा हुन्छ । तर हामीले राम्रो खेल्यौं। खेल जुनसुकै टोलीको पक्षमा जान सक्थ्यो, तर फुटबल यस्तै हो । अब हामी फेरि उठ्नुपर्छ र अगाडि बढ्नुपर्छ। हामी गर्वका साथ मैदान छाड्न सक्छौँ,’ उनले भने ।

Logo