बागमती । चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित ‘डिभाइन आर्ट स्टुडियो’का सञ्चालिका इन्दिरा श्रेष्ठको मूर्तिकारिता यतिखेर अन्यका लागि पनि प्रेरक बनेको छ ।
बाल्यावस्थाबाटै आफ्नो मूर्तिकारिताप्रतिको रुचिलाई व्यावहारिक जीवनमा सशक्त प्रयोग गरिरहेकी उनले यसबीचमा धेरै सङ्ख्यामा मूर्तिहरू निर्माण गरिसकेकी छिन् । देशका विभिन्न स्थानमा उहाँले तयार गरेका मूर्तिहरू पुगिसकेका छन् भने ठाउँठाउँमा हुने गरेको विभिन्न मूर्ति कार्याशालामा पनि उनको माग उत्तिकै बढ्दो छ ।
हालै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित मझुवागढी मूर्ति कार्याशाला पुगेर उनले साप्सु खोलाका ढुङ्गामा हेर्दै मनमोहक लाग्ने प्रकृतिपरक चरी अमिलीको पात निर्माण सम्पन्न गरिसकेकी छिन् । उनले तयार गरेका विभिन्न स्थानमा सजाइएका मूर्तिले पनि उहाँको मूर्तिकारितालाई थप चर्चामा पुर्याएका छन् ।
चितवनको भरतपुर विमानस्थल अगाडि रहेको बाघको मूर्ति उनले नै निर्माण गर्नुभएको हो । त्यस्तै कोहोलपुरको चौराहामा राखिएको बाघ, हात्ती आदिको मूर्ति, चितवनको भरतपुर महानगरपालिका–२२ वडा कार्यालय अगाडि कमलपोखरीको बीचमा राखिएको कमलको फूल, भरतपुर– २३ घैलाघारीमा राखिएको घैलासहितको महिलाको मूर्तिका कारण उनको मूर्तिकारिताले चर्चा पाउने गरेको छ ।
गोरखाको मनकामनामा राखिएको हातले सुन्तला थामेको मूर्तिदेखि रामपुरको विश्वविद्यालय अघि राखिएको नौ फिटको मकै, मैघौलीमा रहेको घैला बोकेको थरूनीको मूर्ति, नेपालगन्जको चिल्ड्रेन पार्कमा राखिएका गैँडाको माउ, बच्चा, हात्ती, बाघ आदिका मूर्तिहरू उनले निर्माण गरेकी छिन् । आफ्ना दाजु भीम श्रेष्ठको प्रेरणाले बाल्यवस्थादेखि नै मूर्तिकलाका क्षेत्रमा आकर्षित बनेकी श्रेष्ठ स्कुले जीवनका क्रममा पनि विभिन्न पेन्टिङहरू गर्ने गरेको अनुभव उनले सुनाइन् ।
चितवनको पोखरा बसपार्कस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी सन् १९९९ मा ललितकला क्याम्पसमा प्रमाणपत्र तहमा भर्ना भएकी श्रेष्ठले त्यहीँबाट फाइन आर्ट विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गरेकी हुन् ।
स्नातक तहको पढाइ सन् २००४ मा सकेर काठमाडौँको सृजना क्याम्पसमा करिब पाँच–सात महिना मूर्तिकला पढाएपछि थप अध्ययनका लागि जर्मन गएकी उनले त्यहाँ पढाइ सेकेर करिब छ वर्ष बिताएर स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्किएको बताइन् ।
“जर्मनबाट फर्केपछि पछिल्ला १० वर्षयता मूर्तिकारिताका क्षेत्रमा निरन्तर लागिरहेकी छु”, उनले भनिन्, “मूर्तिकारिताका क्षेत्रमा इमान्दार र जिम्मेवार भएर लाग्न सकेमा रोजगारीकै लागि कोही पनि भौँतारिनुपर्ने अवस्था छैन ।” ललितकलाका क्षेत्रमा मूर्तिकारिताको अध्ययनमा लागिरहेका युवायुवतीलाई उनले उच्च मनोवलका साथ आफ्नो अध्ययनलाई पूरा गर्न पनि सुझाइन् ।
विभिन्न कार्यशालाहरूमा पनि सहभागी बनिसकेकी श्रेष्ठ सन् २००५ मा आयोजित पहिलो ‘आरम्भ’ मूर्तिकला सिम्पोजियममा समकालीन मूर्तिकारका रूपमा सहभागी भइन् । सोही वर्ष आयोजित ‘हरमोनी’ अन्तरराष्ट्रिय मूर्तिकला सिम्पोजियममा दृश्य कलाकारका रूपमा सहभागी बनेकी थिइन् । सन् २०१५ मा आयोजित ‘रुपान्तरण’ ढुङ्गा मूर्तिकला कार्यशालामा दृश्य कलाकारका रूपमा सहभागिता जनाएकी थिइन् ।
त्यस्तै, सन् २०१७ मा ‘स्वलेवा’ मूर्तिकला कार्यशाला, सन् २०१९ मा कृति राष्ट्रिय मूर्तिकला सिम्पोजियम, ‘सृजना’ अन्तरराष्ट्रिय मूर्तिकला सिम्पोजियम, मादी राष्ट्रिय ढुङ्गा मूर्तिकला कार्यशालाका साथै सन् २०२२ मा दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्याशालामा दृश्य कलाकारका रूपमा उनी सहभागी बनिन् ।
मूर्तिकला क्षेत्रको निरन्तरको लगावसँगै उहाँले समकालीन मूर्तिकला विधामा सन् २०१५ को राष्ट्रिय कला प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त गरेकी थिइन् । त्यस्तै ‘आर्ट फर नेचर’ अन्तरराष्ट्रिय कार्यशालाअन्तर्गत समकालीन मूर्तिकला विधामा सन् २०१५ को सर्वोत्कृष्ट प्रकृति कलाकार सम्मानका साथै २०१८ को आशाकुमारी गुरुङ ललितकला पुरस्कार प्राप्त गरेकी छिन् । उनले हालै नगेन आर्ट एकेडेमीद्वारा खोटाङको मझुवागढी मूर्ति कार्याशालाका अवसर पारी आयोजित कार्यक्रममा ललितकला डायमन्ड वर्ष नारी २०८३ का रूपमा समेत सम्मानित भएकी छिन् ।
मूर्तिकारिताका कारण आफू स्वरोजगार बन्नुका साथै डिभाइन आर्ट स्टुडियोमा दुई जनालाई थप रोजगारी पनि दिइरहेकी छिन् । “करिब दुई महिनाको समयावधिमा रु १० लाखबराबर मूल्य पर्ने मूर्ति बनाउन सकिन्छ”, उनले भनिन्, “बजारमा विभिन्न मूर्तिहरूको माग पनि उत्साहजनक नै भएका कारण यस पेसामा इमान्दार भएर लाग्नेले पेसाकै कारण पछुताउनुपर्ने अवस्था छैन ।”






























