एर्लिङ्टन । विश्वकपमा आफ्नो अन्तिम खेल खेलेपछि क्रिस्टियानो रोनाल्डोले दुःख मानेर मैदान छाडे। उनको अनुहारमा उदासिनता प्रस्ट देखिन्थ्यो। यसले उनको मनमा के खेलिरहेको थियो, त्यो अनुमान गर्न सकिन्थ्यो। दर्शकदीर्घातिर फर्केर हात उठाए र अभिवादन गरे।
प्रत्येक हारपछि उनी जति दुःखी हुन्छन्, त्यो भन्दा बढी पीडा देखिन्थ्यो, उनमा। ‘दुःख नै हुन्छ, यसरी प्रतियोगिताबाट बाहिरिँदा,’ पछि रोनाल्डोले आँसु पुछेर भने। उनी अहिले ४१ वर्षमा भइसके। उनी छैटौंपल्ट विश्वकप खेलिरहेका थिए। पोर्चुगल स्पेनको हातबाट अन्तिम १६ को चरणमा १–० ले पराजित रह्यो। उनले भने, ‘मैले फुटबललाई सबथोक दिएँ, मैले सक्दो राम्रो खेल्ने प्रयास गरें। अब म सफा मनले विश्वकपबाट बिदा लिँदै छु।’
रोनाल्डोले अगाडि थपे, ‘यो फुटबल हो, फुटबलमा खेलाडीको जीवन यस्तै हुन्छ। कहिलेकाहीं खेल जितिन्छ, कहिलेकाहीं हारिन्छ।’ रोनाल्डो नै आफूले खेलेका सबै ६ विश्वकपमा गोल गर्ने एक्लो खेलाडी हुन्, त्यो पनि लगातार। उनले पोर्चुगलका लागि कुल १ सय ४६ गोल गरे। स्पेनको सामना गर्नु अगाडि उनको भनाइ थियो, यो नै उनको जीवनको अन्तिम विश्वकप खेल नहोस्।
उनी अझै विश्वकपमा रमाउन चाहन्छन्। तर यस्तो लेखिएकै थिएन, स्पेनविरुद्धको खेलमा हार बेहोरेलगत्तै उनको विश्वकप खेल जीवनमा पूर्णविराम लागेको छ। विश्वकपमा खेलाडीका रूपमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै सन् २००६ को विश्वकपमा सेमिफाइनल पुग्नु रह्यो र त्यही विश्वकपमा उनले डेब्यू गरेका थिए। आफ्नो भविष्यबारे भने उनले केही पनि भनेनन्।
उनको भनाइ थियो, ‘यो नै मेरो अन्तिम विश्वकप हो। अब के गर्ने हो, त्यसबारे मलाई सोच्नु छ। जीवनमा अगाडि बढ्न हतारमा निर्णय लिनुहुन्न, परिवारसँग पनि कुरा गर्नु छ।’
रोनाल्डो पहिलो हाफमा गोलको नजिक त पुगेका थिए, तर स्पेनी गोलरक्षक उनाइ सिमोनले आकर्षक बचाउ गरे। उनले स्पेनी पोस्टमा तीन आक्रमण रचेका थिए। पोर्चुगाली प्रशिक्षक रोबर्टो मार्टिनेजले उनीबारे भने, ‘रोनाल्डो सबैका लागि उदाहरण हुन्।’ उनले थपे, ‘उनलाई
पछ्याउन लायक छ। यसैमा हामी रमाउन पनि सक्नुपर्छ, आखिरमा उनी फुटबलका ठूला नाम हुन्। विश्व फुटबलमा धेरै रोनाल्डो हुने गर्दैन। त्यसैले पनि उनलाई धन्यवाद दिनुपर्छ। उनको सपना नै थियो, विश्वकप जित्ने। त सकेनन्।’
रोनाल्डो अगाडि पोर्चुगलले कुनै पनि ठूलो प्रतियोगिता जित्न सकेको थिएन। उनी आएपछि सन् २०१६ मा युरो जितेको थियो भने सन् २०१९ र २०२५ मा नेसन्स लिग। विश्वकपमा उनको सबैभन्दा राम्रो व्यक्तिगत प्रदर्शन डेब्युको ८ वर्षपछि प्राप्त भएको थियो, जतिबेला उनले ३३ वर्षको उमेरमा ह्याट्रिक गरे। बढी उमेरमा विश्वकपमा ह्याट्रिकको कीर्तिमान लामो समय टिक्यो।
लियोनल मेसीले यसै विश्वकपमा त्यसलाई तोडेका हुन्। लिग चरणमा स्पेनविरुद्ध नै ३–३ को बराबरीमा रोनाल्डोले तीनै गोल गरेका थिए। यो विश्वकपमा पनि उनले तीन गोल गरे र यससँगै विश्वकपमा उनको कुल गोलसंख्या ११ पुगेको छ।






























