काठमाडौं । स्पेनले यस विश्वकपमा अहिलेसम्म एकै गोल खाएको छैनन् भन्ने तथ्य आफैमा रोमाञ्चक छ। अझ स्पेनले विश्वकपका पछिल्ला ६ खेलमा गोल खाएको छैनभन्दा आश्चर्य नै मान्नुपर्छ। यस प्रदर्शनका नायक हुन्, गोलरक्षक उनाइ सिमोन। यही प्रदर्शनका कारण स्पेन विश्वकप उपाधिका लागि पनि बलियो प्रत्याशी बनेको हो।
सिमोनले गोल नखाएको समय अवधि पुगेको छ, ६ सय ९ मिनेट। यसक्रममा उनले वाल्टर जेन्गाको नाममा रहेको ३६ वर्ष पुरानो कीर्तिमान पनि पछाडि छोडिसकेको छ। एथलेटिक बिलबाओबाहेक अहिलेसम्म अन्यत्र कतै नखेलेका यी २९ वर्षीय गोलरक्षकको स्पेनी टिममा पाएको स्थानलाई लिएर एक प्रकारको बहस थियो। बिलबाओका लागि उनको पछिल्लो सिजन खासै राम्रो रहेको थिएन।
अहिलेसम्मको प्रदर्शन प्रमाणित गरेको छ, उनी कति उम्दा गोलरक्षक हुन भनेर। पोर्चुगलविरुद्धको अन्तिम १६ को खेलमा पनि उनाइले जसरी खेले, त्यो आफैंमा प्रशंसायोग्य छ। पोर्चुगलले सिर्जना गरेको लगातारको दबाबमा पनि उनी शान्त र सौम्य देखिए। विशेषतः क्रिस्टियानो रोनाल्डोको ओभरहेड भलीमा उनाइले जसरी बचाउ गरे, त्यसले उनका प्रशंसक अझ बढेका छन्।






























