महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

केन्द्रबिन्दु
12
Shares

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले गतवर्षको जेठमा एउटा बाख्राको पाठा उपहारमा प्राप्त गरेकी छन् । त्यही बाख्राबाट जन्मेको पाठी समूहका सदस्य चन्द्री हरिजनले उपहारस्वरुप यो वर्ष परियारबाट पाइन् । सोही समूहका सात महिलाले यस वर्ष सात वटा बाख्राका पाठा उपहारस्वरुप पाएका छन् ।

बागलुङ नगरपालिकाले तीन वर्षयता सञ्चालनमा ल्याएको आत्मनिर्भर परियोजनाअन्तर्गत नगरका १० वडाका ८५ महिलालाई यसवर्ष बाख्राका पाठा र बीउ पुँजीका लागि बोका उपहारस्वरुप प्राप्त गरेको छ । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत नगरपालिकाले हेफरको प्राविधिक सहयोगमा महिलालाई ८५ वटा बाख्राका पाठी र बोका वितरण गरेको हो ।

नगरपालिकाको आर्थिक, हेफर परियोजनाको प्राविधिक सहयोग तथा नेपाल गाँजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा नगरका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । उक्त कार्यक्रमअन्तर्गत बागलुङ-५ देखि वडन नं १४ का २२ मूल समूह, ४९ उपहार समूहमार्फत चालु आर्थिक वर्षमा ७५ वटा बाख्राका पाठी र १० वटा बोका उपहारस्वरुप प्रदान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

सुरुको वर्ष खरिद गरेर प्रदान गरिएको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहका अर्का सदस्यलाई दिनुपर्ने नियमअनुसार गतवर्ष बागलुङ नगरपालिकाका १० वटा वडामा १०४ वटा पाठापाठी उपहारस्वरूप प्रदान गरिएको थियो भने चालु आर्थिक वर्षमा ८५ वटा पाठापाठी प्रदान गरिएको छ ।

नगरप्रमुख श्रेष्ठले उपहार स्वरूप ७५ बाख्राका पाठी तथा १० वटा बोका विपन्न तथा लक्षित महिलालाई वितरण गरिएको बताए । विपन्न महिलालाई सानो सहयोग र तालिमले आत्मनिर्भर बन्न ठूलो मद्दत गर्ने उनको भनाइ छ ।

“नगरभित्र बाख्रापालन र तरकारीको सम्भावना बढी छ । परम्परागत रूपमा बाख्रापलान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन नगरपालिकाले वार्षिक रु एक करोड ५० लाख खर्च गरिरहेको छ”, नगरप्रमुख श्रेष्ठले भने, “बाख्राको पाठापाठी मात्रै दिँदैनौँ, बाख्रापालनको सीप, खोर सुधार र आयआर्जनको रकम बचत गर्न सिकाउँछौँ । नगरको बजार क्षेत्रबाहेक वडामा बाख्रापालनको सम्भावना हेरेरै लगानी गरेका छौँ । कार्यक्रमको प्रभावकारिता देखेर पुनःआगामी वर्षलाई निरन्तरता दिने योजनामा छौँ ।”

उक्त कार्यक्रमबाट तीन वर्षमा ६२० जनाभन्दा बढी महिला लाभान्वित भएका छन् । उनीहरूलाई बाख्रापालनका लागि बीउ पुँजीबाट सहयोग मिलिरहेको छ भने कतिपयलाई तालिम प्रदान गरिएको छ । समूहअन्तर्गत रहेका महिला विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत २२ मूल समूहअन्तर्गत ४९ उपाहर समूह गठन गरेर तालिम, तरकारीको बीउदेखि टर्नेल निर्माणमा सहयोग गरिएको नगर कार्यालयले जनाएको छ ।

महिलालाई दिइएको पाठापाठीलाई हुर्काउने, बीउ पुँजीका रूपमा विकास गर्दा आयआर्जन बढ्नुका साथै विपन्न परिवार आत्मनिर्भर भइरहेका, स्वरोजगारका अवसर सिर्जना भइरहेका फाउण्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनले जानकारी दिए । उनले महिलालाई बाख्रापालनमा आकर्षित गर्ने, बचत गर्न सिकाउने, तरकारीखेतीमा आकर्षित गर्ने र बाख्रपालनलाई वृद्धि गर्ने तरिका सिकाउँदा फलदायी हुने विश्वास व्यक्त गरे ।

Logo