नेपालका १७ अर्बका सामान चीनतिरै अड्किए

नेपालका १७ अर्बका सामान चीनतिरै अड्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङ लगायत चिनियाँ बजारमै अड्किएका छन्। नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट दैनिक ६ देखि ८ कन्टेनर सामान मात्रै आयात भइरहेको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड–१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थ लगायत अड्केको हो। चीनले तातोपानी र रसुवागढी नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने निर्यात गर्न दिएको छैन। ती दुवै नाकाबाट अत्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी लगानी डुब्ने चिन्तामा परेका छन् ।

संघका अध्यक्ष बच्चु पौडेलका अनुसार विगतमा नेपाली व्यवसायीको कन्टेनर तातोपानी हुँदै चीनको खासासम्म सोझै जान पाउँथ्यो। खासामा सामान लोड गरी १५ दिनमा काठमाडौं ल्याइपुर्‍याउँथे। दैनिक रूपमा उक्त नाकामार्फत ५० देखि १ सय कन्टेनरसम्म सामान आउँथ्यो। रसुवातर्फ केरुङ (चीनतर्फको भूभाग)सम्म नेपाली कन्टेनर जान पाउँथ्यो। ‘तर, पछिल्लो समय कोभिडको समस्या देखाएर केरुङ र खासासम्म नेपाली कन्टेनरलाई जान दिइएको छैन’, अध्यक्ष पौडेलले भने।

पौडेलका अनुसार चिनियाँ पक्षले कोभिड–१९ को समस्या सिर्जना भएपछि नेपाली कन्टेनरलाई तातोपानी र रसुवातर्फको मितेरी पुलसम्म मात्रै जान अनुमति दिएको छ। मितेरी पुलसम्म चिनियाँ पक्षले आफ्ना कन्टेनरमा नेपाली व्यवसायीले मगाएको सामान ल्याइदिन्छन्। त्यहाँबाट नेपाली व्यवसायीले आफ्ना ट्रक र कन्टेनरमा लोड गरी भित्र्याउँदै आएका छन्।

नेपाली व्यवसायीले ती दुवै नाकाको मितेरी पुलसम्म दैनिक ५० देखि १ सय कन्टेनरसम्म आउनुपर्ने माग गर्दै आएका छन्। ‘हामी अहिले पनि कोभिड १९ को स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गरेका छौं’, पौडेलले भने, ‘हामीलाई मितेरी पुलमै सामान झारिदिए पनि हुन्छ। तर, कम्तीमा दैनिक ५० देखि १ सय कन्टेनरसम्म झारिदिनुपर्‍यो।’ कनिका छरेजस्तो दैनिक ४–५ कन्टेनर झारेका कारण आर्थिक मारमा परेको पौडेलको भनाइ छ।

नौ महिनादेखि आउन नसकेको करिब १७ सय कन्टेनरको सामान कुन अवस्थामा छ भन्ने सोचेर मानसिक र आर्थिक पीडा थपिएको आयातकर्ता व्यापारीको भनाइ छ। पौडेलका अनुसार यो विषयमा परराष्ट्रसचिबसँग पटक–पटक छलफल भएको छ। परराष्ट्रसचिव तातोपानी नाकासमेत घुमेर आए तर हालसम्म कूटनीतिक रुपमा समस्याको कुनै समाधान भएको छैन।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यो समस्याको विषयमा आफूले मन्त्रिपरिषद् बैठकका साथै परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको बताए। ‘यो समस्याको समाधान निकाल्न कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयका अधिकारीसँग प्रत्यक्ष र पत्राचार गरी छलफल भइसकेको छ,’ मन्त्री भट्टले भने, ‘तर, हालसम्म समस्या समाधान हुन सकेको छैन। यही साता राजधानी गएपछि यो विषयलाई गम्भीर रुपमा छलफल गरी निकास दिन्छौं।’

उनका अनुसार कोभिड १९ को विषयमा चिनियाँ पक्षलाई आश्वस्त गर्न नसक्दा समस्या सिर्जना भएको हो। मन्त्री भट्टले पछिल्लो समयमा ती दुवै नाकामार्फत दैनिक ४–५ कन्टेनर मात्रै आउँदा नेपाली व्यवसायी आर्थिक रुपमा धरासायी बनेको जानकारी दिए।अन्नपूर्णबाट

Logo