काठमाडौं ,९,मंशिर
भारतबाट आयातीत युरिया मलको बोरामा कम तौल भएको अध्ययनबाट देखिएको छ । कृषि विकास मन्त्रालयले क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक हस्तबहादुर विष्टको संयोजकत्वमा ३ सदस्य छानबिन समिति गठन गरेको थियो सो समितिले कात्तिक २१ गते मन्त्रालयलाई बुझाएको प्रतिवेदनले कम तौल भएको निष्कर्ष निकालेको छ । कृषि सामग्री लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले भारतीय कम्पनी ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कर्पोरेसन लिमिटेडबाट खरिद गरेको २५ सय मेट्रिक टन (५० हजार बोरा) युरिया मलको बोरा मध्ये कम तौल भएका बोरा फेला परेको गुनासो आउन थालेपछि कृषि मन्त्रालयले कात्तिक १४ गते छानबिन समिति गठन गरेको थियो ।
क्षेत्रीय कार्यालय विराटनगरमा रहेको ५० हजार बोरा मध्ये ४७ हजार ३५४ बोरामा तौल पूरा भएको तथा कुनै कुनैमा बढी तौल भएको तर त्यस बाहेक ६८१ बोरामा कम तौल भएको पाइएको छ । त्यस्तै एक हजार ५२८ बोरा फुटेको र च्यात्तिएको र ५२९ बोरा पानीले भिजेको पाइएको छ । तौल कम भएका ६८१ बोरा मध्ये २० वटा नमुना सङ्कलन गरी जाँच गर्दा औसतमा ४७ केजी, न्यूनतम तौल ४१ केजी र अधिकतम ५० केजी रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । भिजेको ५२९ बोरा मध्ये १५ वटा नमुना जाँच गर्दा औसत तौल ४९ केजी, न्यूनतम ४७ केजी र अधिकतम ५१ केजी पाइएको छ । त्यस्तै फुटे च्यात्तिएको एक हजार ५२८ बोरा मध्ये ३० वटाको नमुना परीक्षण गर्दा औसत ४९ केजी, अधिकतम ५१ केजी र न्यूनतम ४७ केजी पाइएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया