सिन्धुपाल्चोक । जिल्लाको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रमा सडक भासिएपछि नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबार पुनः अवरुद्ध भएको छ।
आइतबार पनि लिपिङ बजारमा पहिरो खस्दा एउटा कन्टेनरमा क्षति पुगेको थियो। पहिरोका कारण सडक केहीबेर अवरुद्ध हुँदा सीमा क्षेत्रको आवागमनसमेत प्रभावित बनेको थियो। बेलुका लगातार आएको वर्षापछि कोदारी राजमार्गको इको खण्डमा आइतबार करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन पूर्णरूपमा रोकिएको हो।
भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयसँग समन्वय भइसकेको छ र पहिरो पन्छाउने काम सुरु गरिएको छ। ‘सडक खुलाउने प्रयास भइरहेको छ। वर्षात भइरहेकोले काम गर्न समस्या भएको अवस्था छ, बर्खाभर सडक भासिने क्रम नरोकिँदा तातोपानी नाकाको सञ्चालन प्रभावित हुँदै आएको छ,’ उनले भने।
सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका दर्जनौँ मालवाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका छन्। गत वर्ष पनि बर्खायामभर यही इको क्षेत्रमा पटक–पटक सडक भासिँदा कोदारी राजमार्ग अवरुद्ध हुने गरेको थियो। यसअघि इको, खकुण्डोल र कोप्लाङ क्षेत्रमा खसेको पहिरो दुई वटा एक्स्काभेटर प्रयोग गरी हटाइएपछि सडक सञ्चालनमा ल्याइएको थियो।






























