हेटौँडा,८, मंशिर
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्लामा गरेको नमूना मतदान कार्यक्रममा मत बदर न्यून रहेको छ । निर्वाचन कार्यालय मकवानपुरका अनुसार नमूना मतदान कार्यक्रममा जम्मा सात मत मात्र बदर भएको हो । मंसिर २ गते देखि लगातार पाँच स्थानमा गरिएको नमूना मतदानमा ३५४ जनाले मतदान गरेका थिए । स्थानीय तहको निर्वाचनमा बदर मतको संख्या उच्च भएको भन्ने आलोचना पछि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई नमूना मतदान कार्यक्रम गर्न निर्देशन दिएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
दुई स्थानीय तह बराबर एक नमूना मतदान कार्यक्रम गर्न आयोगको निर्देशन बमोजिम जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्लाको मकवानपुरगढी गाउँपालिकाको बुढीचौर, वाग्मती गाउँपालिकाको झुरझुरे, कैलाश गाउँपालिकाको कालिकाटार, थाहा नगरको चित्लाङ र हेटौँडा उपमहानगरपालिकाको ठूलोथलीमा नमूना मतदान कार्यक्रम गरेको थियो । निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र निर्वाचन शिक्षामा खटिने कार्यकर्ताको तालीमका क्रममा सहभागीलाई नै मतदान प्रक्रियामा सहभागी गराई नमूना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रवक्ता दिनेश श्रेष्ठले बताए । रासस





























प्रतिक्रिया