काठमाडौं ,८, मंशिर
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नु पर्नेछ । तीन वटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार सबै भन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन् । सो मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर मतपेटिकामा खसालेपछि मतदाताले कालो रङको मतपत्र प्राप्त गर्नेछन् । यो मतपत्र प्रदेश सभा सदस्य चयन गर्नका लागि हो । आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर कालो रङको मतपत्रलाई मतपेटिकामा खसालेपछि मतदाताले रातो रङको मतपत्र प्राप्त गर्नेछन् । रातो रङको मतपत्र समानुपातिक तर्फ मतदान गर्नका लागि हो । यस मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि दलको निर्वाचन चिह्न समावेश हुनेछ । सोही पानाको तल्लो भागमा प्रदेशसभा तर्फका दलको निर्वाचन चिह्न समावेश हुनेछ । दलहरूले एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ आफूले रोजेको दलको चुनाव चिह्नमा समानुपातिक मत खसाल्नेछन् । यसरी तीनवटा मतपत्र मार्फत चारपटक मतदान गर्नुपर्नेछ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया