दुई महिनामा १७ सय सहकारी पीडितलाई बचत फिर्ता

दुई महिनामा १७ सय सहकारी पीडितलाई बचत फिर्ता

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । पछिल्ला दुई महिनामा समस्याग्रस्त सहकारी संस्थाका एक हजार ७ सय ५४ बचतकर्ताले करिब साढे २ करोड रुपैयाँ पैसा फिर्ता पाएका छन्। संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका २३ वटा सहकारीमध्ये १० वटा संस्थाका १ हजार ७ सय ५४ जना बचतकर्ताले पैसा फिर्ता पाएका हुन्। यो असार १५ सम्म पैसा फिर्ता गरेको विवरण हो।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी व्यवस्थापन गरिरहेको छ। जसअनुसार समितिले ती सहकारीका ऋण असुली र बचत फिर्ताको काम गर्दै आएको छ। सोही क्रममा सरकारले अध्यादेशमार्फत सहकारी ऐन संशोधन गरेपछि बचत फिर्ताका लागि चक्रीय कोष स्थापना गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालन गर्ने उक्त कोषमा पछि शोधभर्ना हुने गरी सरकारबाट प्राप्त र संस्थाहरूबाट असुली भएको रकम राखिन्छ । सोही रकमबाट क्रमिक रूपमा रकम फिर्ता गरिरहेको सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम आचार्यले बताए। उनका अनुसार असार १५ सम्म १ सय ४१ जना बचतकर्ताको १ करोड ७९ लाख ५७ हजार बराबरको बचत मिलान गरिएको छ।

यस्तै, गएको दुई महिनामा सहकारीका १ सय ५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार कर्जा असुली भएको समितिले जनाएको छ। सो अवधिमा बचत फिर्ता र बचत मिलान गरी कुल १ हजार ८ सय ९५ जना लाभग्राहीको ४ करोड ४३ लाख ४८ हजार बराबरको रकम व्यवस्थापन गरिएको समितिले जानकारी दिएको छ। कुनै व्यक्तिको एउटै सहकारीमा बचत छ र उसले त्यहाँबाट ऋण पनि लिएको छ भने उसले तिर्नुपर्ने र लिनुपर्नेबीचको हरहिसाब मिलानलाई ‘बचत मिलान’ भनिन्छ।

सहकारीपीडितहरू भने सरकारले न्यायोजित ढंगले बचत फिर्ता नगरेको गुनासो गर्छन्। अहिले समितिले १० हजार रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई मात्र प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको दाबी गरे पनि वितरण प्रक्रियामा अधिकांश सहकारीपीडित असन्तुष्ट रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका केन्द्रीय अध्यक्ष कुशलव केसीले बताए।

गत जेठ पहिलो सातादेखि असार १५ सम्म पैसा फिर्ता पाउने १० वटा सहकारी संस्थाका बचतकर्तामध्ये सबैभन्दा धेरै शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका छन्। यो संस्थाका ८ सय ६९ जना बचतकर्ताले ३२ लाख ६६ हजार रुपैयाँ फिर्ता पाएका छन्। यस्तै, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका २ सय १५ जना बचतकर्तालाई ९ लाख ८९ हजार ७ सय १६ रुपैयाँ र तुलसी बहुमुखी सहकारी संस्थाका १ सय ५८ जना बचतकर्तालाई २० लाख ५३ हजार ७ सय ६८ रुपैयाँ ७० पैसा फिर्ता गरिएको छ।

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ३ सय ४९ जना बचतकर्तालाई ११ लाख ६२ हजार, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका ८८ जना बचतकर्तालाई ५ लाख १३ हजार, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका २६ जनालाई १ लाख ४० हजार, ओरिएन्टल को–अपरेटिभका २३ जनालाई १ लाख ४२ हजार, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका १३ जनालाई ४३ हजार ९ सय ३२ फिर्ता गरिएको छ।

पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका ७ जनालाई ४१ हजार ४ सय ६५ रुपैयाँ र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्थाका ६ जनालाई ३७ हजार १९ रुपैयाँ बचत फिर्ता गरिएको समितिको तथ्यांक छ। समितिले गत वैशाखमा ७७ जना ऋणीबाट ३ करोड ४० लाख ८ हजार र जेठमा ५३ जना ऋणीबाट १ करोड २७ लाख ७३ हजार असुली गरेको छ। असार १५ सम्म २४ ऋणीबाट २३ लाख ३१ हजार ९ सय १७ रुपैयाँ कर्जा असुल गरिएको समितिले जनाएको छ ।

समस्याग्रस्त सहकारीको पैसा फिर्ताका लागि सरकारले ‘चक्रीय कोष’ स्थापना गरेको छ। सुरुमा (गत वैशाखमा) सरकारले २५ करोड रुपैयाँ र संस्थाहरूको बचत तथा असुलीमार्फत संकलित ३५ करोड गरी ६० करोड रुपैयाँ संकलन भएको थियो। उक्त रकम पछि शोधभर्ना हुने गरी कोषमा राखिएको छ । सोही कोषबाट समितिले बचतकर्तालाई रकम फिर्ता दिइरहेको हो।

हालसम्म संघीय सरकारले २३ सहकारी संस्थालाई मात्र समस्याग्रस्त घोषणा गरेको छ। तीमध्ये थोरै रकम रहेका तीन वटा सहकारीका बचतकर्ताको रकम यसअघि नै राफसाफ भइसकेको छ। बाँकी २० सहकारीका बचतकर्तामध्ये असार १५ सम्म १० सहकारीका बचतकर्तालाई रकम फिर्ता गरिएको हो।

समस्याग्रस्त सहकारीमा २५ हजारभन्दा कम बचत रहेका बचतकर्ता १७ हजार र २५ हजारदेखि ५० हजारसम्मका ९ हजार बचतकर्ता छन्। तीसमेत गरेर १ लाखसम्मका बचतकर्ता ३६ हजार ५ सय २२ र १ लाखदेखि ५ लाखसम्मका २१ हजार ६ सय १९ बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेछ। ५ लाखभन्दा बढी बचत रहेका १८ हजार ३ सय ३ जना छन्।

Logo