विकास, समृद्धि तथा मधेशीको हक अधिकारका लागि वाम गठबन्धन

विकास, समृद्धि तथा मधेशीको हक अधिकारका लागि वाम गठबन्धन

केन्द्रबिन्दु
0
Shares

सप्तरी, ६ मंसिर ।

पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य उमेश यादवले मधेसको विकास, समृद्धि तथा मधेशीको हक अधिकार पूरा गराउन वाम गठबन्धनलाई निर्वाचनमा विजय गराउनुपर्ने बताएका छन् ।

आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मधेस केन्द्रीत दलका कारण नै मधेसको विकास र समृद्धि हुन सकेको छैन ।”

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सदस्यका उम्मेदवार समेत रहेका यादवले देशको प्रत्येक आन्दोलन तथा जनताको अधिकारको लडाइँमा वामगठबन्धनको भूमिका अग्रगामी रहेकाले विकास, समृद्धि र प्रगतिका लागि वामगठबन्धनको विकल्प नरहेको बताए ।

आफ्नो प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफूले समर्थन नगरेको पनि उनले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धन विजयी हुने भएकोले त्यसबाट धेरै नेता तथा राजनीतिक दल हतोत्साहित भएको उल्लेख गर्दै सबै दलले वामगठबन्धनलाई समर्थन गर्नुपर्नेमा जोड दिए ।

सप्तरी क्षेत्र नं। २ प्रदेशसभा सदस्य (ख) का उम्मेदवार महेशप्रसाद यादवले सप्तरीको विकासका लागि आफुले स्पष्ट प्रतिबद्धता पत्र जारी गरेको बताए । रासस

Logo