जर्सीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

जर्सीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपालले जर्सीसँगको दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा पनि जित हात पारेको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा नेपाल डीएलएस पद्धतिअनुसार सात रनले विजयी भएको हो ।

पहिलो खेलमा नेपालले ८१ रनको जित निकालेको थियो । एनसीसी ग्रानभिलमा घरेलु टोली जर्सीले प्रस्तुत गरेको २८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।

नेपालका इशान पान्डेले सर्वाधिक ९० रनको योगदान गरे । कुशल भुर्तेलले ५२, भीम सार्कीले ३७ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रन जोडे । जर्सीका लागि चाल्र्स पर्चार्डले दुई तथा जुलियस समरायर र स्कट भान ब्रेडाले एक–एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको जर्सीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रनको योगफल तयार पारेको थियो । जर्सीका लागि प्याट्रिक गजले सर्वाधिक ९५ रनको योगदान गरे । ह्यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५०, निक ग्रीनउडले ३२ र जोन्टी जेनरले २७ रन बनाए ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीस्वरुप जर्सीसँग अभ्यास खेल खेलेको हो । नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखला जुलाई २१ देखि सुरु हुँदै छ ।

Logo