काठमाडौं । युरोपेली संघ (ईयू) र युक्रेनबीच नयाँ ड्रोन सहकार्य सम्झौता घोषणा भएको केही घण्टामै रुसले युक्रेनको राजधानी किभमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार ब्यालिस्टिक मिसाइल प्रहार भएको छ ।
किभका मेयर भिटाली क्लिट्सकोले बिहीबार बिहान टेलिग्राममार्फत सभ्यातोशिनस्की जिल्लास्थित एक गोदाम र डार्निट्स्की जिल्लाको एक गैरआवासीय भवनमा मिसाइल प्रहार भएको र राजधानीका विभिन्न स्थानमा लागेको आगो निभाउन आपत्कालीन उद्धार टोली परिचालन गरिएको बताए ।
उनले डार्निट्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा एक गैरआवासीय क्षेत्रमा पनि आगलागी भएको बताएका छन् । यो आक्रमण युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले किभ भ्रमणका क्रममा युक्रेन र युरोपेली संघबीच नयाँ ‘ड्रोन सम्झौता’ घोषणा गरेको केही घण्टापछि भएको हो ।
सम्झौताअन्तर्गत युक्रेनको युद्धमैदानमा विकसित ड्रोन प्रविधि र अनुभवलाई युरोपेली संघको औद्योगिक उत्पादन क्षमतासँग जोडेर संयुक्त परियोजना अघि बढाउने तथा ड्रोन उत्पादनलाई तीव्र रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
युक्रेनको राष्ट्रियता दिवसका अवसरमा आयोजित कार्यक्रममा भोन डेर लेयनले दुवै पक्षका क्षमता एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याउँदै यो सम्झौताले युक्रेनी नवप्रवर्तन र युरोपको औद्योगिक क्षमतालाई एकसाथ ल्याउने बताइन् ।
बुधबार युक्रेनी क्षेत्रीय अधिकारीहरूले देशका विभिन्न भागमा भएको रूसी बमबारीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएको बताएका छन् । उक्त आक्रमणहरूमा औद्योगिक प्रतिष्ठान र स्वास्थ्य सेवा संस्थाहरूलाई निशाना बनाइएको थियो । अलजजिरा































