फ्रान्सको हारमा मध्यपंक्तिको रणनीतिक र प्राविधक भुल

फ्रान्सको हारमा मध्यपंक्तिको रणनीतिक र प्राविधक भुल

केन्द्रबिन्दु
15
Shares

डालास । फ्रान्सेली कप्तान केलियन एमबाप्पेले विश्वकप फाइनल प्रवेश गर्न असफल रहेकामा जहिल्यै गुनासो रहने बताउँदै आफ्नो टिमको तर्फबाट रणनीतिक र प्राविधिक भुल भएको स्वीकारेका छन्।

स्पेनको हातबाट सेमिफाइनलमा २–० ले पराजित फ्रान्स प्रतियोगिताबाट बाहिरिएको हो। अन्तिम चारसम्मको यात्रामा एमबाप्पे सबैभन्दा प्रभावशाली खेलाडी रहेका थिए। उनले यसक्रममा ८ गोलसमेत गरेका थिए। तर २७ वर्षीय एमबाप्पेको लगातार तेस्रो फाइनल खेल्न सपना भने पूरा हुन सकेन।

फ्रान्सेली ब्रोडकास्टर एम–सिक्ससँगको कुराकानीमा एमबाप्पेले आफू असाध्यै निरास भएको बताएका छन्। उनले भनेका छन्, ‘हामीले चाहेजस्तो खेल्नै सकेनौं। हामी रणनीतिक र प्राविधिक खेलमै चुक्यौं। एउटा टिमका रूपमा हाम्रो प्रदर्शन उच्च रहेन। विश्वकपको सेमिफाइनल चरणमा आफूले चाहे जस्तो खेल्न सकेनौं भने हार नै हुन्छ।’

‘हाम्रो लक्ष्य तीव्र गतिमा खेलेर आक्रमण गर्ने थियो र स्पेनलाई सुस्त बनाउने थियो। खेलमाथि बढी नियन्त्रण लिने पक्षमा हामी स्पेनभन्दा राम्रो थियौं। तर हामीले त्यही गर्न सकेनौं,’ एमबाप्पेले थपे, ‘फाइनल पुग्ने हाम्रो सपना थियो, त्यो पूरा भएन, यसलाई स्वीकार्नैपर्छ।’ एमबाप्पेले माने स्पेनविरुद्धको हार आफ्नो टिमले मध्यपंक्तिमा गरेको कमजोर प्रदर्शनकै कारण थियो।

स्पेनका रोड्रीसँगै डानी ओल्मो र फाबिन रुइज मैदानको चारैतर्फ छाए, त्यहीं फ्रान्सका लागि एडरिन राबोट र एरेलिन चोमेनी आफैंमा सीमित रहे। एमबाप्पेको विश्लेषण थियो, ‘स्पेनका तीन मध्यपंक्तिका खेलाडीसामु हाम्रा दुई साथीले केही गर्न सकेनन्। यो नै हाम्रो प्रमुख समस्या जस्तो लाग्छ। जुन प्रकारले हामी पराजित रह्यौं, त्यो निराशाभन्दा अरू केही हुन सक्दैन।’

फ्रान्सको समस्या मध्यपंक्तिमै मात्र रहेन, आक्रमणमा पनि रह्यो। ओसमन डेम्बेले पनि पूरा खेल अवधिमा चुपचाप जस्तै देखिए। उनको स्थानमा मैदानमा छिरेका डिजायर डोउ र ब्राडली बार्कोला पनि अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भए। यसले फ्रान्सको आक्रमणमा धार नै रहेन। अझ एमबाप्पे आफैंले पनि अघिल्ला खेलहरूमा जसरी जादुयी प्रदर्शन गर्न सकेनन्।

त्यसैले फ्रान्सेली समर्थकले सबैभन्दा ठूलो आवाजमा त्यतिबेला खुसी व्यक्त गरे, जब रंगशालामा राखिएको ठूलो स्क्रिनमा डेबिड बेकह्याम र भिक्टोरियालाई देखाइएको थियो। फ्रान्सको रक्षापंक्तिले पनि दुई अवसरमा भुल गर्‍यो र दुवैपल्ट स्पेन गोल गर्न सफल रह्यो। सबैभन्दा पहिले पेनाल्टीमा मिकेल ओयारजाबलले गोल गरे र पछि पेड्रो पोरोले दोस्रो गोल थपे।

जब खेल सकिएको सिटी बज्यो, एमबाप्पे मैदानमा एक्लै देखिए। उनका केही सहकर्मीहरू मैदानमा घुँडाले टेकेर झुकिरहेका थिए। अझ केहीले आफ्नो मुख छोपेर आफूभित्रको प्रतिक्रिया पनि देखाउन चाहेनन्। सेमिफाइनल अगाडिसम्म अब्बल दर्जाको खेल प्रदर्शन गरेको फ्रान्सेली टिम सेमिफाइनलमा एकाएक सामान्य टिमभन्दा बढी पनि रहेन, भावनात्मक रूपमा पनि। एएफपी

Logo