नाइमामा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदै

नाइमामा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आउँदो २६ साउनदेखि ३१ सम्म हुने नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६ मा दुईपांग्रे सवारीका १८ र चारपांग्रेका २९ ब्रान्ड नयाँ सार्वजनिक गरिने भएको छ।

एक्सपोमा फर्मी मोटर्सले स्काइवर्थ र किटन ब्रान्डको एउटा कर्मिसियल सवारीसाधन सार्वजनिक गर्ने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भृकुटीमण्डपमा हुन लागेको एक्सपोमा ५१ स्टल रहनेछन्।

एक्सपोमा ५५ भन्दा बढी विभिन्न कम्पनीका ब्रान्ड रहने आयोजकको भनाइ छ। चाडबाडको मुखमा आयोजना गरिन लागेको एक्सपोमा विभिन्न कम्पनीहरूबीच आआफ्ना ब्रान्डका सवारीमा छुट दिन प्रतिस्पर्धा चल्ने गरेको छ। अहिलेसम्म विभिन्न कम्पनीका ४८ वटा ब्रान्ड सार्वजनिक गर्ने तयारी रहेको आयोजकले बताएको छ। सबैभन्दा बढी प्यारामाउन्ट मोटर्सले वुलिङ ब्रान्डका पाँच वटा चारपांग्रे विद्युतीय सवारी सार्वजनिक गर्दै छ। तिनमा एक्सिएन, मिनी, डेरिएन, बिंगो र लिंकिस ईभी छन् ।

चारपांग्रेतर्फ कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया ब्रान्डका ३, ईभी राइड प्रालिले होर्नी बोमा ब्रान्डको एउटा, हिमालय म्याक्सले म्याक्सस ब्रान्डका ३ वटा सवारी सार्वजनिक गर्ने तयारी छ। यस्तै लक्ष्मी कमर्सियलले केरी कमर्सियल ब्रान्डका २, लक्ष्मी ई–मोबिलिटीले काइयी ब्रान्डको एउटा, लक्ष्मी मोटरहबले आर्कफक्स र बाइक ब्रान्डको एक–एक वटा सवारी सार्वजनिक गर्ने तयारी छ।

एक्सपोमा नयाँ सार्वजनिक हुने गरी सूचीकृत हुने सवारी कम्पनी र ब्रान्डमा एसक्यू इन्टरप्राइजेजको हेनरी भोल्ट्स ब्रान्डका ३ र सांग्रिला मोटर्सको लिपमोटर्स ब्रान्डको एउटा सवारी सार्वजनिक गरिँदै छ। अहिलेसम्म सबैभन्दा धेरै नयाँ ब्रान्डका चारपांग्रे सवारी नै सार्वजनिक गर्ने गरी सूचीकृत भएका छन्। युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा ब्रान्डका २ र भीजी इम्पेक्स जीडब्लूएम (ग्रेट वाल मोटर्स) ब्रान्डका २ वटा साधन लन्च गर्दै छ।

एसपीजी अटोमोबाइल्सले ओमोडा र आइकारका एक–एक वटा नयाँ ब्रान्ड एक्सपोमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ। पायोनियर मोटोकर्पले निसान ब्रान्ड र जीओ अटोमोबाइल्सले एमजी ब्रान्डका एक–एक वटा नयाँ सवारी सार्वजनिक गर्दै छन्। दुईपांग्रेतर्फ पनि एक्सपोमा नयाँ ब्रान्ड सार्वजनिक गर्ने कम्पनीको संख्या बढ्दै गएको छ। एक्सपोमा बाइकर्स नेपालले जेडएक्समोटो/सिएक्स ब्रान्डका मोटरसाइकल ३ वटा नयाँ लन्च गर्दै छ।

इको इन्फिनिटीले निउ ब्रान्डका ३, इभोक नेपालले केरेन इलक्ट्रिक स्कुटर्स २ वटा सार्वजनिक गर्दै छ। हंसराज हुलासचन्द्र एन्ड कम्पनीले बजाजका २, जगदम्बा मोटर्सले टीभीएसका २ र कुजु नेपालले याडिया ब्रान्डका ३ साधन नयाँ लन्च गर्ने तयारी छ। परिमिता इन्भेस्टमेन्टले ग्यारो ब्रान्डको एउटा, त्रायना मोबिलिटिले अल्ट्राभायोलेट ब्रान्डको एक र युनाइटेड ट्रेडर्स सिन्डिकेटको मोर्बिडेली ब्रान्डको १ वटा नयाँ साधन एक्सपोमा सार्वजनिक गर्दै छन्।

एक्सपोमा ४० भन्दा बढी विभिन्न ब्रान्डका दुई र चारपांग्रे नयाँ सवारी सार्वजनिक गर्ने तयारी भएको नाइमा अटो सो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले बताए। ‘स्टल सोल्ड आउट भइसकेका छन्,’ उनले भने, ‘पछि पाँच वटा ब्रान्डले आग्रह गर्दा पनि ठाउँ दिन सकेनौं, ठाउँ अभावमा ती ब्रान्डलाई एक्सपोमा सहभागी गराउन समस्या भयो।’ बर्खालाई ध्यानमा राखेर हल तयार पार्न लागिएकाले एक्सपोमा छिरेर निस्किँदासम्म पानीबाट कुनै समस्या नहुने उनको भनाइ छ।

एक्सपोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादन समेटिने नाइमाले जनाएको छ। एक वर्षअघि नेपालका लागि अटोमोबाइल आयातकर्ता तथा उत्पादन समेट्ने गरी २१ सदस्यबाट सुरु भएको संस्थामा अहिले ३६ प्रमुख सदस्य कम्पनी पुगेको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बताइन्। नाइमाले नाइमा मोबिलिटी एक्सपो र नाइमा मन्थ्ली मोबिलिटी संवाद जस्ता प्रमुख कार्यक्रम संस्थागत गरिसकेको उनको भनाइ छ।

एक्सपोको टिकट बिक्रीको आम्दानीको १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम पहलका लागि छुट्याइने र उक्त फेलोसिपमार्फत तयार हुने अनुसन्धान तथा लेख नाइमा मोबिलिटी जर्नलमा प्रकाशन गरिनेछ। नाइमा मोबिलिटी कन्क्लेभ आयोजना गर्ने र विशेषगरी शिक्षा मन्त्रालयसहित सरकारसँग सहकार्य गर्दै मोबिलिटी क्षेत्रमा सीप अभिवृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित तालिम कार्यक्रम व्यवस्थित गर्ने योजना रहेको अध्यक्ष वैद्यले प्रस्ट्याइन्।

Logo