काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले इङ्ल्यान्डविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि आफ्नो टोलीको कहिल्यै हार नमान्ने मानसिकताको खुलेर प्रशंसा गरेका छन्।
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो विश्वकप फाइनलमा स्थान बनाएको हो।
बुधबार अमेरिकाको एटलान्टामा भएको खेलपछि स्कालोनीले इङ्ल्यान्डले १–० को अग्रता लिएपछि रक्षात्मक शैली अपनाएको क्षणदेखि नै आफ्नो टोलीले जितको अवसर देखेको बताए।
‘मलाई लाग्छ, यो टोली सबैभन्दा उत्कृष्ट खेल त्यतिबेला खेल्छ जब हामी कठिन परिस्थितिमा हुन्छौँ,’ स्कालोनीले भने। ‘हामी निकै चुनौतीपूर्ण अवस्थामा थियौँ। त्यसबेला हामीले अवसर महसुस गर्यौँ र जितका लागि सबै शक्ति लगायौँ।’
उनले खेलभर अर्जेन्टिनाले सिर्जना गरेका अवसरहरूको पनि चर्चा गरे। ‘हामीले क्रसबारमा प्रहार गर्यौँ, पोस्टमा पनि बल लाग्यो, तर गोल हुन सकेन। त्यसपछि पनि टोलीले हार मानेन। हामीले लगातार छ वा सात स्पष्ट अवसर सिर्जना गर्यौँ। अन्तिम क्षणसम्म लडिरहने टोलीको भावना देखेर म अत्यन्तै खुसी छु। यही हाम्रो सबैभन्दा ठूलो शक्ति हो,’ उनले भने।
यो नकआउट चरणमा अर्जेन्टिनाले पछि परेको अवस्था उल्टाएर जित निकालेको दोस्रो अवसर हो। यसअघि अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध पनि अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै जित निकालेको थियो, जसलाई स्कालोनीले त्यतिबेला ‘एपिक’ जित भनेका थिए।
बुधबारको जितलाई कसरी वर्णन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले मुस्कुराउँदै भने, ‘एपिक’को पनि दोब्बर भन्न सकिन्छ।’स्कालोनीले इङ्ल्यान्डमाथिको जित कुनै एक खेलाडीको नभई सम्पूर्ण टोलीको सामूहिक प्रयास भएको बताए।
‘यो समूहलाई शब्दमा वर्णन गर्न निकै कठिन छ। यहाँ एकता छ, दाजुभाइजस्तो सम्बन्ध छ र अन्तिम क्षणसम्म लड्ने अद्भुत भावना छ। यही कारणले हामी सफल भइरहेका छौँ,’ उनले भने।
यस जितसँगै अर्जेन्टिनाले अब आइतबार न्यु जर्सीमा हुने विश्वकप फाइनलमा युरोपेली च्याम्पियन स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। स्कालोनीसँग अब अर्जेन्टिनालाई लगातार चौथो प्रमुख अन्तर्राष्ट्रिय उपाधि दिलाउने अवसर पनि रहेको छ। उनले सन् २०२२ को विश्वकप र त्यसअघि तथा त्यसपछिका दुई कोपा अमेरिका उपाधि जिताइसकेका छन्।
खेलाडीहरू कुनै पनि दबाबबाट प्रभावित हुन नहुने उनले बताए।‘म मेरा खेलाडीहरूलाई राम्रोसँग चिन्छु। उनीहरू कुनै कुरासँग डराउँदैनन्। उनीहरूले काँधमा दबाब बोकेको महसुस गर्दैनन्,’ उनले भने।
‘उनीहरू सात–आठ वर्षका बालबालिकाले जस्तै स्वतन्त्र रूपमा फुटबल खेल्छन्। गोल छुट्यो भने के हुन्छ, सेमिफाइनल वा फाइनलको दबाब के हुन्छ भन्ने उनीहरूको दिमागमा हुँदैन। उनीहरू केवल खेलको आनन्द लिन्छन् र आफ्नो सबै शक्ति मैदानमा दिन्छन्,’ उनले भने।































