डालास । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेनबीच आइतबार हुने विश्वकप २०२६ को फाइनलमा रेफ्रीको भूमिका स्लोभेनियाका ४६ वर्षीय स्लाभ्को भिनिसिचले निभाउने भएका छन्। उनले दुई वर्षअगाडि युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि खेलाएका थिए।
फिफाले शुक्रबार स्लाभ्कोको रोजाइबारे जानकारी दिएको हो। लगातार दोस्रो फाइनल खेलिरहेको अर्जेन्टिनाले उपाधि भिडन्तमा युरोपेली प्रतिद्वन्द्वी सामना गर्न लागेको हो। रेफ्रीका केही निर्णयलाई विवाद भइरहेको पृष्ठभूमिमा युरोपेली रेफ्रीको चयन गरिएको छ। उनका दुई सहायकमा स्लोभेनियाकै टोमन क्लाननिक र आन्द्राज कोभासिच रहेछन्।
केही टिमले अर्जेन्टिना र कप्तान लियोनल मेसीलाई फाइदा हुने गरेर रेफ्रीले निर्णय गर्ने गरेको आरोप लागिरहेको छ। यसपल्टको विश्वकपमा स्लाभ्कोले तीन खेल खेलाइसकेका छन् र त्यसमा सात पहेँलो र एक रातो कार्ड देखाएका छन्।
उनको अन्तिम १६ चरणको मेक्सिको र इक्वडेरबीचको खेल खेलाएका थिए। त्यसमा मुख छोपेको आरोपमा भारको मदतमा स्लाभ्कोले इक्वडेरका पिएरे हिनकेपलाई रातो कार्ड देखाएका थिए। लिग चरणमा उनले ब्राजिल र मोरक्को तथा अल्जेरिया र जोर्डनबीचको खेल खेलाएका थिए।
पछिल्लो च्याम्पियन्स लिगमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई ४–३ ले पराजित गर्दा उनी नै रेफ्री थिए। सन् २०२४ को च्याम्पियन्स लिग फाइनलमा रियलले बोरुसिया डर्टमन्डलाई हराउँदा उनले रेफ्रीको भूमिका निभाएका थिए।































