काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) ‘विशेष मौसम बुलेटिन’ जारी गर्दै आज शनिबार र भोलि आइतबार मनसुन थप सक्रिय भई ठुलो वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ।
उल्लिखित २ दिन भीषण वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्नका निम्ति सबै नागरिकलाई सतर्क रहन मौसम महाशाखाले सुझाव दिएको छ। मौसम महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना देखिएको हो।
सूचनामा भनिएको छ, ‘मिति २०८३/०४/२ गते शनिबार र ३ गते आइतबार मनसुनी गतिविधि बढ्न गई देशका हिमाली/पहाडी भूभाग, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। देशभर धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना छ।’































