काठमाडौं । सोसिएसन अफ नेपाल (एफएमएएन) ले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धन र चोरी पैठारी नियन्त्रणका लागि सरकारसँग आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह र एसोसिएसनका पदाधिकारीबीच भएको छलफलमा प्रधानमन्त्रीले तीनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने प्रतिबद्धता जनाए।
छलफलमा सांसद विदुषी राणा, संघका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई र पूर्वउपाध्यक्ष सहभागी थिए। राणाको समन्वयमा सम्पन्न छलफलमा महासंघका प्रतिनिधिले जुत्ता–चप्पल चोरी–पैठारी नियन्त्रण, स्वदेशी उद्योग प्रवर्द्धन तथा अनुगमन प्रणाली सुदृढ बनाउन आग्रह गरे।
स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारी कर्मचारी, नेपाल प्रहरी तथा अन्य सरकारी निकायमा नेपाली उत्पादनका जुत्ता–चप्पल प्रयोग गर्ने नीति अवलम्बन गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीसमक्ष राखिएको थियो। ‘प्रधानमन्त्रीले उद्योगीका माग सुनेपछि नेपाल प्रहरीका महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, राजस्व विभाग तथा वाणिज्य विभागका प्रमुखलाई बोलाएर छलफल अघि बढाइएको छ,’ सांसद राणाले भनिन्।
आगामी १५ दिनभित्र सूचना जारी गर्ने, चोरी–पैठारीमा संलग्नमाथि कडा कारबाही गर्ने तथा बजार अनुगमन प्रभावकारी बनाउने विषयमा सहमति भएको उनले बताइन्। स्वदेशी उद्योग अहिले सबैभन्दा बढी चोरी–पैठारीबाट प्रभावित भएको उनको भनाइ छ।
भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी–पैठारी र गुणस्तरहीन तथा सस्ता जुत्ता–चप्पल आयात नियन्त्रण गर्न र अनिवार्य गुणस्तर परीक्षण गर्न एसोसिएसनले ध्यानाकर्षण गराएको छ। आयात–निर्यातमा देखिएको समस्या र यसको गुणस्तरमा दक्ष जनशक्तिको अभाव, कच्चापदार्थ तथा छालाजन्य वस्तुको आयातमा देखिएको समस्या तथा बीआईएसको गुणस्तर मापदण्डमा कूटनीतिक पहल सहजीकरण गरिनुपर्नेमा महासंघको जोड छ।
चाडपर्वमा आवश्यक कच्चापदार्थ आयातमा १२ देखि १४ वटा सीमित कन्टेनर मात्र नाकाबाट छाड्ने हुँदा सिजनको समयमा मागअनुसारको कन्टेनर छाडिदिन कूटनीतिक पहल गर्नुपर्नेमा एसोसिएसनको माग छ।
कृषि क्षेत्रपछि सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने फुटवेयर उद्योगमा आवश्यक जनशक्तिको अभावका कारण विदेशी श्रमिकमा निर्भर हुनुपरेको एसोसिएसन अध्यक्ष बञ्जाडेले बताए। सातै प्रदेशमा सीपमूलक तालिमको व्यवस्था गरी स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न तथा रोजगारी सिर्जना गर्न आवश्यक पहल गरिदिन आफूहरूले प्रधानमन्त्रीसँग आग्रह गरेको उनले जनाए।
प्रधानमन्त्री शाहले सकारात्मक रूपमा माग सम्बोधन गरेको र आगामी दिनमा व्यवसायीका मागलाई व्यवस्थित गर्दै लैजानेमा आफू विश्वस्त रहेको अध्यक्ष बञ्जाडेको भनाइ छ। नेपालका फुटवेयर उद्योगले ५० हजारलाई रोजगारी दिइरहेको उनले बताए। गत आर्थिक वर्षमा ४७ लाख जोर जुत्ता निर्यात गरेको र अहिले ११ महिनामा ६० लाख जोर निर्यात गरिसकेको उनले जनाए।
स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारी कर्मचारी, नेपाल प्रहरी तथा अन्य सरकारी निकायमा नेपाली उत्पादनका जुत्ता–चप्पल प्रयोग गर्ने नीति अवलम्बन गर्नुपर्ने एसोसिएसनको माग छ। छलफलमा वाणिज्य विभागमा जनशक्ति अभाव रहेको विषय उठेपछि आवश्यक कर्मचारी अन्य निकायबाट समेत परिचालन गर्ने तयारी गरिएको एसोसिएसनको भनाइ छ।































