काठमाडाैं । फिफा विश्वकप २०२६ को गएराति भएकाे सनसनीपूर्ण फाइनल भिडन्तमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै इतिहासमै दोस्रो पटक विश्वकपको उपाधि चुमेको छ। न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको एक्स्ट्रा टाइममा गोल गर्दै फेरान टोरेस स्पेनका लागि नायक बने ।
यस पराजयसँगै ३९ वर्षीय अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको लगातार दोस्रो पटक विश्वकप ट्रफी उचाल्ने र ब्राजिलले सन् १९६२ मा बनाएको कीर्तिमान बराबरी गर्ने सपना अधुरै रह्यो। खेल सकिएपछि ८० हजारभन्दा बढी दर्शकमाझ मेस्सी स्तब्ध हुँदै मैदानमै भावुक बनेर आँसु खसाल्न पुगेका थिए।
राेचक कुरा के छ भने, अमेरिकाको मेटलाइफ स्टेडियम लियोनेल मेस्सीका लागि पुनः एकपटक दुखद् र भावुक थलो साबित भएको छ। सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियो फाइनलमा यसै स्टेडियममा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा मेस्सीले भावुक बनेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। ठ्याक्कै १० वर्षपछि, २०२६ को विश्वकप फाइनलमा पुनः सोही स्टेडियममा मेस्सी र अर्जेन्टिनाले स्पेनको सामना गरे पनि भाग्यले यसपटक पनि मेस्सीलाई साथ दिएन। टोली पराजित भएपछि कप्तान मेस्सी मैदानमै टाउको निहुराएर टोलाएका थिए भने स्पेनका खेलाडीहरूले उनलाई सान्त्वना दिएका थिए।

निर्धारित ९० मिनेटको खेल गाेलरहित बराबरीमा सकिएपछि खेल एक्स्ट्रा टाइममा धकेलिएको थियो। एक्स्ट्रा टाइमको दोस्रो हाफ सुरु भएको ३७ सेकेन्डमै अर्थात् १०६ औँ मिनेटमा फेरान टोरेसले उत्कृष्ट भली प्रहार गर्दै निर्णायक गोल गरे। लामिन यमालको पासमा निको विलियम्सले मिलाइदिएको बललाई टोरेसले आकर्षक ढङ्गले गोलमा परिणत गरेका थिए। प्रतियोगिताभर आलोचना र ट्रान्सफरको दबाब झेलिरहेका टोरेसका लागि यो गोल आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो सफलता बन्यो।
स्पेनले सम्पूर्ण खेलभर आफ्नो दबदबा कायम राखेको थियो। खेलमा स्पेनले २० वटा प्रहार गर्दा अर्जेन्टिनाले मात्र २ वटा प्रहार गर्न सकेको थियो। अर्जेन्टिनाले यो फाइनलमा कतिसम्म रक्षात्मक खेल खेल्यो भने, निर्धारित ९० मिनेटसम्म उनीहरूले स्पेनको पोस्टमा एउटा पनि शट प्रहार गर्न सकेनन्। विश्वकप फाइनलको इतिहासमा ९० मिनेटसम्म कुनै पनि टिमले एउटा पनि शट प्रहार गर्न नसकेको यो पहिलो पटक हो। अर्जेन्टिनाको पहिलो शट ११७औं मिनेटमा मात्र मेस्सीले प्रहार गरेका थिए।
अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले खेलमा ११ वटा बचाउ गर्नुपर्यो। यो विश्वकप फाइनलको इतिहासमै कुनै गोलरक्षकले गरेको सबैभन्दा धेरै सेभ हो।
६५ प्रतिशत बल नियन्त्रणमा राखेको स्पेनको २० वटा सट र ११ वटा सट अन टार्गेट थियो। पासमा पनि स्पेन नै अगाडि देखियो। स्पेनले ८५२ पास खेल्दा अर्जेन्टिनाले जम्मा ४६४ पासमा सीमित रह्यो। विश्वकपको फाइनलमा कुनै पनि खेलाडीले १०० भन्दा बढी पास खेल्नु एकदमै दुर्लभ मानिन्छ। तर यसपटक स्पेनका दुई खेलाडीले यो रेकर्ड बनाए। रोड्रीले १०१ र पाउ कुबार्सीले १२१ पास खेले।
अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले खेलपछि मेस्सीको योगदानको प्रशंसा गर्दै उनी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी भएको बताए। यद्यपि, मेस्सीले राष्ट्रिय टोलीबाट अब खेल्छन् या सन्यास लिन्छन् भन्ने विषयमा अझै केही खुलाएका छैनन्। यस जितसँगै स्पेन पुरुष र महिला दुवै विश्वकपको उपाधि एकैसाथ जित्ने विश्वकै पहिलो राष्ट्र बनेर इतिहास रच्न सफल पनि भएको छ।































