न्यु समिट कलेजमा ‘वर्डप्रेस काठमाडौं मिटअप’ सम्पन्न, ६० भन्दा बढी विद्यार्थीलाई आईटी करियर र प्रयोगात्मक तालिम

न्यु समिट कलेजमा ‘वर्डप्रेस काठमाडौं मिटअप’ सम्पन्न, ६० भन्दा बढी विद्यार्थीलाई आईटी करियर र प्रयोगात्मक तालिम

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । ओपन सोर्स प्रविधिलाई प्रवर्द्धन गर्ने र विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ आइतबार नयाँ बानेश्वरस्थित न्यु समिट कलेजमा एक दिने ‘वर्डप्रेस मिटअप’ सफलतापूर्वक सम्पन्न भएको छ।

वर्डक्याम्प काठमाडौँ २०२६ को पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रममा कलेजका ६० भन्दा बढी प्राविधिक विधाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै न्यु समिट कलेजका प्रिन्सिपल चोकराज दवाडीले यस किसिमका व्यावहारिक र सीपमूलक कार्यक्रमहरूले विद्यार्थीहरूलाई सूचना प्रविधि (आईटी) को क्षेत्रमा सफल करियरको सुरुवात गर्न महत्त्वपूर्ण मार्गदर्शन गर्ने बताए। उनले विश्वबजारमा तीव्र रूपमा माग भइरहेको प्रविधिमा कलेजस्तरमै दक्ष प्रशिक्षकहरूबाट सिक्न पाउनु विद्यार्थीहरूका लागि ठुलो अवसर भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्राविधिक अभ्यासलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

बुटक्याम्पमा बहुर्राष्ट्रिय तथा ख्यातिप्राप्त प्राविधिक कम्पनीहरूमा आबद्ध नेपालका स्थापित सूचना प्रविधि विज्ञहरूले फरक-फरक सत्रहरू सञ्चालन गरेका थिए। जसअन्तर्गत रिगोरस वेबका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र श्रेष्ठले वर्डप्रेसको परिचय, यसको महत्त्व र नेपाली वर्डप्रेस समुदायको विकासक्रमबारे प्रकाश पारेका थिए।

त्यस्तै, वर्डप्रेस इन्जिनियर रेगन खड्गीले आगामी वर्डक्याम्प काठमाडौँ र यसको विश्वव्यापी सञ्जालका फाइदाहरूका बारेमा जानकारी गराएका थिए भने फुल-स्ट्याक इन्जिनियर किशोर कुमार महतोले वर्डप्रेसको क्षेत्रमा रहेका अथाह सम्भावना तथा भविष्यको करियर रोडम्यापका विषयमा आफ्ना अनुभवहरू साटेका थिए।

यसैगरी, कार्यक्रमको मुख्य प्राविधिक सत्रमा वर्डप्रेस काठमाडौँका आयोजकसमेत रहेका वर्डप्रेस डेभलपर सरोज खनालले सहभागी विद्यार्थीहरूलाई व्यावहारिक रूपमै वर्डप्रेस सम्बन्धी विशेष तालिम प्रदान गरेका थिए।

उनले विद्यार्थीहरूलाई वर्डप्रेसको प्राविधिक पक्ष, विकास (डेभलपमेन्ट) प्रक्रिया र यसको व्यावहारिक प्रयोगका विभिन्न चरणहरूका बारेमा विस्तृत प्रशिक्षण दिएका थिए। उद्योगका स्थापित विज्ञहरूबाट सिधै सिक्न पाउँदा प्रविधिको क्षेत्रमा काम गर्ने आत्मविश्वास बढेको प्रतिक्रिया सहभागी विद्यार्थीहरूले दिएका छन्।

Logo