काठमाडौं,३, मंशिर
बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिता विपरीत निर्वाचन प्रचार प्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन् । संसद सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् । बहालवाला सात मन्त्रीले निर्वाचन प्रचार प्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । कांग्रेसको तर्फबाट बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सिँचाइमन्त्री सञ्जयकुमार गौतम, बर्दिया २ बाट उम्मेदवार बनेका भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, सोही क्षेत्रबाट माओवादी उम्मेदवार रहेका विनाविभागीय मन्त्री सन्तकुमार थारूले चुनाव प्रचारमा सरकारी गाडी कुदाइरहेका छन् । थारूले जिल्ला प्रशासनबाट गाडी झिकाएर प्रयोग गरिरहेका छन् भने दहित र गौतमले मन्त्रीको हैसियतमा चढ्ने गाडी प्रयोग गरेका छन् ।
कांग्रेसका तर्फबाट धनुषा २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कृषिमन्त्री रामकृष्ण यादव, कांग्रेसकै तर्फबाट धनुषा ४ मा उम्मेदवार बनेका खानेपानी मन्त्री महेन्द्र यादव र माओवादीका तर्फबाट धनुषा ३ मा उम्मेदवार बनेका विनाविभागीय मन्त्री रामसिंह यादवले पनि सरकारी गाडी दुरुपयोग गरिरहेका छन् । माओवादीको तर्फबाट कालिकोटमा प्रदेश सभामा उम्मेदवार रहेका विनाविभागीय मन्त्री महेन्द्र बहादुर शाहीले पनि सुरु–सुरुमा चुनाव प्रचारमा सरकारी गाडी प्रयोग गरेका थिए । स्थानीयस्तरमा आलोचना हुन थालेपछि उनले सरकारी गाडीको प्रयोग रोकेका छन् । सरकारी गाडी फिर्ता नगरेका संसद्का पूर्वपदाधिकारीहरू चुनावी प्रचारमा गृहजिल्लामा व्यस्त छन् । पूर्वउपसभामुख गंगा प्रसाद यादव १० दिन देखि सप्तरीमा छन् । उनले पनि सरकारी गाडीमा चुनाव प्रचार गरिरहेका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया