सिन्धुपाल्चोक, २ मंसिर
पञ्चायतकालीन राजनीति देखि नै सिन्धुपाल्चोकमा आफ्नो पकड जमाउँदै आएका राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणालाई गणतन्त्रपछिका २ निर्वाचनमा भने पराजय व्यहोर्नु प¥यो । तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ (यसअघि ३) मा २०३८ साल पछि लगातार २०५६ साल सम्म पाँच पटक चुनाव जितेका राणालाई गणतन्त्रपछिका निर्वाचनमा एक पटक तत्कालीन नेकपा (माओवादी) तथा एक पटक नेकपा (एमाले) का उम्मेदवारले पराजित गर्दा राणा अहिले तिनै दुई दल मिलेर बनेको वाम गठबन्धन विरुद्ध नेपाली काँग्रेसको समर्थनमा चुनावी प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रका धेरै चुनाव व्यहोरेका नवलपुरका बासिन्दा राणाले केही चमत्कारै गरे भने मात्र जित हुने नत्र वाम गठबन्धन उम्मेदवार हावी हुने बताउँछन् । वि.सं. ०६४ मा भएको पहिलो संविधानसभा चुनावमा माओवादीका दावा तामाङसँग पराजय भोगेका राणा दोस्रो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग दुई हजार ५०० मतान्तरले पराजित भएका थिए । पाँच पटकको लगातारको जीतपछि दुई पटक पराजय भोगेपछि राणा सिन्धुपाल्चोकमा चुनाव लड्न फर्किंदैनन् भन्ने आँकलन विपरीत काँग्रेसको समर्थन लिएर पुनः मैदानमा उत्रिएपछि सिन्धुपाल्चोक–२ को चुनाव फेरि रोचक बनेको छ । चुनावी घरदैलोका बीच कुरा गर्दै शेर बहादुर तामाङले अहिले वामपन्थी गठबन्धनको मत लोकतान्त्रिक गठबन्धन भन्दा १० हजार बढी रहेको र राणालाई २० हजार मतान्तरले पराजित गरिने जिकिर गरे । “वाम गठबन्धन गणितीय हिसाबमा पनि अगाडि छ, यस पटक राणालाई हराएर हारको ह्याट्रिक चखाइन्छ” उनले भने ।
सिन्धुपाल्चोक–२ मा स्थानीय तहको चुनाव अनुसार पहिलो शक्ति रहेको एमाले र तेस्रो शक्ति रहेको माओवादी बीच तालमेल छ । त्यस्तै दोस्रो शक्ति रहेको काँग्रेस र चौथो शक्ति रहेको राप्रपा(प्रजातान्त्रिक) को अर्को गठबन्धन छ । सिन्धुपाल्चोक–२ मा मेलम्ची नगरपालिका र चौतारा साँगाचोक नगरपालिकाका केही वडा तथा हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका पर्छन् । ती मध्ये हेलम्बु र इन्द्रावती गाउँपालिका काँग्रेसले तथा मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकामा एमालेले जितेको छ । स्थानीय तहमा एमालेले २६ हजार ५७०, काँग्रेसले २१ हजार ४८२, माओवादी केन्द्रले १४ हजार २७० र राप्रपाले नौ हजार मत पाएका थिए । यसरी हेर्दा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दा करिब १० हजार मतले अगाडि छ । नेता राणा स्थानीय तहको निर्वाचनको मतलाई मात्र हेर्न नहुने बताउँछन् । पञ्चायतकाल देखि सिन्धुपाल्चोकको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेकाले यस पटक सिन्धुका जनताले विवेक प्रयोग गर्ने जिकिर उनको छ । उनले भने, काँग्रेससँग गठबन्धन बनेपछि हामी बलिया छौँ, चुनाव जित्छौँ । निर्वाचन आउन ८ दिन मात्र बाँकी हुँदा टहरामा बसेका भूकम्पपीडितको भने आक्रोश छुट्टै छ । दुवै नेताले भूकम्पपछि जिल्लामा केही गर्न नसकेको उनीहरुको गुनासो छ ।
रासस





























प्रतिक्रिया