राभाङ्ला । नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा भव्य र एतिहासिकरूपमा सम्पन्न भएको छ ।
‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजित समारोहमा नेपाल, सिक्किम तथा भारतका विभिन्न स्थानका साहित्यकार, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी, समाजसेवी र सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सिक्किम वेभ्स मिडिया र सिक्किम अनलाइन न्यूज मिडियाको सहयोगमा सम्पन्न कार्यक्रममा सिक्किमका माननीय विधायक रिक्साल दोर्जे भुटिया प्रमुख संरक्षकका रूपमा सहभागी हुनुभएको थियो । अवार्ड समारोहसँगै भव्य लाइभ म्युजिकल कन्सर्टसमेत आयोजना गरिएको थियो, जहाँ नेपाली संगीतका विभिन्न विधाका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रमको सबैभन्दा आकर्षक पक्षका रूपमा नेपाली भाषा, साहित्य, संगीत र समाजसेवामा दशकौंदेखि निरन्तर योगदान पुर्याउँदै आउनुभएका नेपालका वरिष्ठ साहित्यकार अमर वान्तु तथा सिक्किमका साहित्यकार हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो । यसअघि दीर्घसाधना सम्मान विशिष्ठ संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा तथा वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो ।
यसवर्ष विभिन्न विधामा उत्कृष्ट योगदानका आधारमा दर्जनौं स्रष्टा तथा कलाकार सम्मानित भएका छन् । नवगीततर्फ बाबुराम श्रेष्ठ ‘निरुपम’, हास्य अभिनयतर्फ रश्मी पाण्डे, लोकप्रिय गीतकारतर्फ बिमल काफ्ले, युगल गायनतर्फ तारावीर पाण्डे र मिलन नेवार, भाषाभाषी गायनतर्फ अनिल योञ्जन तथा आधुनिक गीततर्फ नारायण नेपाल, सुमन बी.टी. र पवित्रा गुरुङ सम्मानित भए ।
त्यस्तै, राइजिङ स्टार अवार्ड बालकलाकार कायरा गुरुङलाई प्रदान गरिएको थियो । लोक-पप गायनतर्फ योगेश काजी, महिला मोडलतर्फ मेरो करिमा, आधुनिक गीतकारतर्फ प्रकाश सुवेदी, आधुनिक मोडलतर्फ विनोद श्रेष्ठ, लोकदोहोरी गायनतर्फ बिनोद तानेर, पप आधुनिक मोडलतर्फ मुकेश गुरुङ, लोक–पप संगीतकारतर्फ शंकर थापा ‘स्माइल’, डायस्पोरा गायिकातर्फ नीता आचार्य, आधुनिक गीतकारतर्फ डा. विलोल पोखरेल, आधुनिक संगीतकारतर्फ दीपक शर्मा तथा आधुनिक गीततर्फ प्रकाशजंग कार्कीलाई जुरी अवार्ड प्रदान गरिएको थियो ।
युगल गायनतर्फ षड्ज सम्बाहाम्फे र रचना रिमाल, लोकप्रिय आधुनिक गायकतर्फ छपिन गुरुङ, निर्देशकतर्फ कृष्णदेव रूपाखेती, लोकप्रिय गीततर्फ पासाङ शेर्पा, आधुनिक गायिकातर्फ सारिका घिमिरे, उत्कृष्ट गायकतर्फ रोशन टमट्टा, शृंगारतर्फ अमृत मारहट्ठा, पूर्वेली रचनातर्फ सेरु बराली, भाषाभाषी गीतको कोरियोग्राफीतर्फ पवित्रा आचार्य, सम्पादनतर्फ कल्पिस विश्वकर्मा, लोक–पप गायिकातर्फ मञ्जु लावती तथा नव मोडेलतर्फ कुन्दन गुप्ताले अवार्ड चुम्न सफल भए ।
अवार्ड समारोहसँगै आयोजित सांगीतिक कार्यक्रममा तारावीर पाण्डे, अशोक दर्जी, शंकर थापा ‘स्माइल’, सारिका घिमिरे, षड्ज सम्बाहाम्फे, सुमन बी.टी., प्रकाशजंग कार्की, सुन्दर राई, विनोद दनुवार, रमेश पाठक, पवित्रा गुरुङ र अनिश योञ्जनले आफ्ना चर्चित गीत प्रस्तुत गर्नुभएको थियो । नृत्यतर्फ पवित्रा आचार्य र शिला गजुरेलसहितका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
समारोहमा साहित्यकार अमर वान्तु तथा डा.विलोल पोखरेलले कविता वाचन गर्दै नेपाली साहित्यको समकालीन प्रवृत्ति र सिर्जनात्मक यात्राबारे आफ्ना रचना प्रस्तुत गरेका थिए । साहित्यिक प्रस्तुतिले समारोहलाई थप गरिमामय बनाएको सहभागीहरूको भनाइ थियो ।
यस अवसरमा नेपाल र सिक्किमका विभिन्न क्षेत्रका स्रष्टा, सञ्चारकर्मी, कलाकार तथा समाजसेवीलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा साहित्यकार अमर बानियाँ ‘लोहोरो’, अभिनेत्री सृजना कार्की, चित्रकार टिकामाया गुरुङ, युवा व्यवसायी तथा मोडल भक्तराज जोशी, गायक अशोक दर्जी, बालगायक रिहान सुब्बा, सञ्चारकर्मी अक्कल कुँवर, स्वस्तिका पन्थी, पेम नर्वु शेर्पा, फूर्वा रवाण्ड, निर्माता डेनिभ पुन, सौन्दर्यकर्मी गीता सिंह, चलचित्र निर्माता केवल तामाङ, मोडल शिला गजुरेल, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल, गायक सुन्दर राई, गीतकार तथा समाजसेवी तीर्थकुमारी राई, सुष्मा गुरुङ तथा रिकी ल्हामु लेप्चालगायत रहेका थिए ।
कार्यक्रममा सिक्किमका कवि फुर्बा खाण्डु शेर्पाको कवितासङ्ग्रह ‘देउराली भञ्जाङ’को पनि लोकार्पण गरिएको थियो । अवार्डको मुख्य निर्णायकमा वरिष्ठ संगीतकार राजु सिंह रहनुभएको थियो भने निर्णायक सदस्यमा सुनिल गिरी, सन्दीप पौड्याल, रमेश पाठक र वीरेन्द्र भाट ‘विपिन’ रहेका थिए । उनीहरूको योगदानको कदर गर्दै प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै अवार्डका अध्यक्ष गणेश सुवेदीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले हिमालयन इन्टरनेशनल अवार्डलाई निरन्तरता दिइएको बताए । उनले नेपाल र विश्वभर रहेका नेपाली भाषी स्रष्टालाई एउटै मञ्चमा जोड्ने प्रयासका रूपमा अवार्डलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम संयोजक गीता अधिकारीका अनुसार विभिन्न कारणले सिक्किमको राभाङ्लामा उपस्थित हुन नसक्नुभएका सम्मानित स्रष्टा तथा कलाकारलाई निकट भविष्यमै काठमाडौंमा विशेष समारोह आयोजना गरी अवार्ड तथा सम्मान अर्पण गरिनेछ । अवार्ड नेपाल-भारतका नेपाली भाषी कलाकार तथा स्रष्टालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले यो संस्करण सिक्किमको राभङलामा गरिएको उनले बताबताइन् ।
यस अवार्डको अघिल्लो संस्करण थाइलण्याडको बैंककमा भएको थियो । हिमालयन अन्तर्राष्ट्रिय अवार्डले नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको विश्वास छ ।
नेपाल र भारतका नेपाली भाषी समुदायबीच साहित्य, संगीत, कला र संस्कृतिको साझा सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले आयोजित हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करणले नेपाली भाषाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न तथा स्रष्टाहरूको योगदानलाई सम्मानित गर्न उल्लेखनीय भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।


















