काठमाडौँ । सरकारले चालु आर्थिक वर्षका लागि देशैभरिका जग्गाको प्रयोजन अनुसार नयाँ सरकारी मूल्य (मूल्याङ्कन) कायम गरेको छ। सम्बन्धित मालपोत कार्यालयहरूले गत आर्थिक वर्षको तुलनामा अधिकतम १० प्रतिशतसम्म वृद्धि गरी जग्गाको न्यूनतम र अधिकतम मूल्य तोकेका हुन्।
मालपोत कार्यालय डिल्लीबजारका अनुसार केशरमहल, जमल, ठमेल, न्यूरोड र माइतीघर वरपरका जग्गाको मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ पुगेको छ। त्यस्तै रत्नपार्क, पुरानो बसपार्क र सहिद गेट क्षेत्रका लागि प्रतिआना ७६ लाख २० हजार रुपैयाँ कायम गरिएको छ।
पुतलीसडक आसपासको जग्गाको मूल्य यसअघि प्रतिआना ५३ लाख २४ हजार रुपैयाँ रहेकोमा बढाएर ५६ लाख रुपैयाँ पुर्याइएको छ। सोही क्षेत्रमा कच्ची तथा गोरेटो बाटोले छोएको जग्गाको मूल्य भने प्रतिआना २२ लाखदेखि ३७ लाख रुपैयाँसम्म तोकिएको छ भने डिल्लीबजार मालपोत मातहतको न्यूनतम मूल्य प्रतिआना ११ लाख रुपैयाँ कायम छ।
यसैगरी, मालपोत कार्यालय चाबहिलअन्तर्गत गौशालादेखि धोबीखोलासम्मका चक्रपथसँग जोडिएका जग्गाको मूल्य सबैभन्दा बढी प्रतिआना ६२ लाख ७० हजार रुपैयाँ तोकिएको छ, जुन गत वर्ष ५७ लाख रुपैयाँ मात्र थियो।
बल्खुदेखि वनस्थलीसम्मका चक्रपथ जोडिएका जग्गाको प्रतिआना मूल्य ४७ लाखबाट बढाएर ४९ लाख ३५ हजार रुपैयाँ कायम गरिएको छ। काठमाडौँकै कालीमाटी र विष्णुखोला क्षेत्रका जग्गामा प्रतिआना २ लाखका दरले वृद्धि गरी २३ लाखदेखि ४३ लाख रुपैयाँसम्म तोकिएको छ।
बाटो नपुगेका वा गोरेटो बाटो मात्र भएका ठाउँहरू जस्तै गोकर्णेश्वरमा १ लाख ४३ हजार तथा कीर्तिपुर र बल्खु खोला वरपरका बाटो नपुगेका जग्गामा १ लाख ६५ हजार रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ।


















