काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको आगामी रणनीति तय गर्न राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाबारे जानकारी दिएका हुन्।
सिंहका अनुसार आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्न लागिएको हो। उनले पार्टीका सातै प्रदेशमा यसअघि नै विभिन्न छलफल तथा भेला सम्पन्न गरिसकिएको उल्लेख गर्दै अब राष्ट्रिय भेलामार्फत आगामी राजनीतिक दिशा तय गरिने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सहमति, सहकार्य र एकताको आधारमा सम्पन्न गर्नुपर्नेमा आफूहरूको जोड रहेको स्पष्ट पारे।


















