अमेरिका-इरान तनाव फेरि उत्कर्षमा, मध्यपूर्व थप अस्थिर

अमेरिका-इरान तनाव फेरि उत्कर्षमा, मध्यपूर्व थप अस्थिर

केन्द्रबिन्दु
18
Shares

दुबई। अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र बनाएको छ । पछिल्ला घटनाक्रममा अमेरिकी हवाई आक्रमण विस्तार हुनु, इरानको कडा प्रतिकार चेतावनी, हुथी विद्रोहीको समुद्री गतिविधि, कुवेतको हवाई सुरक्षा सक्रिय हुनु तथा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

अमेरिकी सेनाले लगातार १२औँ रात इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण अभियान निरन्तर जारी छ । इरानी सरकारी सञ्चारमाध्यमले दक्षिणपश्चिमका रामसिर र अहवाज शहर तथा खाडी तटीय बुसेहर प्रान्त अमेरिकी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको बताएका छन् ।

यसैबीच अमेरिकी ऊर्जा मन्त्रालयले साउदी अरेबियासँग नागरिक आणविक सहयोगसम्बन्धी ऐतिहासिक सम्झौता भएको घोषणा गरेको छ । उक्त सम्झौताले साउदी अरेबियामा नागरिक आणविक कार्यक्रम विकासका लागि कानूनी आधार तयार गर्ने जनाइएको छ । अमेरिकाले सम्झौतामा आणविक हतियार प्रसार रोक्न आवश्यक सुरक्षा प्रबन्ध समावेश गरिएको जनाएको छ ।

यता, कुवेतको सेनाले इरानी आक्रमणपछि बिहीबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुपक्षका ड्रोन अवरोध गरेको जनाएको छ । सेनाले सुनिएका विस्फोट हवाइ प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्दा भएको स्पष्ट पारेको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी पूर्वाधारमाथि आक्रमण गरे त्यसको शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिएका छन् । अमेरिकाले हर्मुज जलघाँटीमा लक्षित प्रत्येक जहाज आक्रमणको बदलामा इरानका पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएपछि उनको प्रतिक्रिया आएको हो । इरानको रक्षा सिद्धान्त ‘जस्तो आक्रमण, त्यस्तै प्रतिकार’ भएको अराघचीले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हर्मुज जलघाँटीमा कुनै पनि जहाजमाथि आक्रमण भए त्यसको बदलामा इरानको एउटा पुल वा विद्युत् केन्द्रमा आक्रमण गरिने चेतावनी दोहो¥याएका छन् । उनले युद्धमा अमेरिकाले हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरिसकेको उल्लेख गर्दै आवश्यक परे थप कदम चालिने बताएका छन् ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी कम्पनीको एउटा तेल ट्याङ्करमा आक्रमण गरेको दाबी गरेका छन् । हुथीहरूले यसअघि साउदी बन्दरगाहमा समुद्री नाकाबन्दी गर्ने चेतावनी दिएका थिए । पाँच महिनादेखिको युद्धका कारण हर्मुज जलघाँटीको आवागमन पनि प्रभावकारी रूपमा प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय चेम्बर अफ शिपिङ (आइसीएस) का अनुसार हुथी विद्रोहीहरूले लाल सागर क्षेत्रमा सञ्चालनरत जहाजलाई रेडियोमार्फत् चेतावनी सन्देश पठाउन थालेका छन् ।

यसैबीच, युद्धको असर विश्व ऊर्जा बजारमा पनि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब छ सातापछि पहिलोपटक ९५ अमेरिकी डलर नाघ्दै ९५ डलरको हाराहारीमा पुगेको छ भने अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्य पनि करिब तीन प्रतिशत वृद्धि भएको छ ।

Logo