फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी घट्ना

फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी घट्ना

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । न्यु जर्सीको मेटलाइफ स्टेडियममा स्पेनले दोस्रोपटक विश्वकप ट्रफी उचाल्दा विश्वभरका करोडौं फुटबल समर्थकले नयाँ च्याम्पियनको उत्सव मनाइरहेका थिए ।

मैदानमा रातो जर्सीधारी स्पेनिस खेलाडीहरू विजयको खुसीमा रमाइरहँदा पराजित अर्जेन्टिनी खेलाडीहरू निराश मुद्रामा देखिन्थे । तर, खेल सकिएको केही क्षणमै दृश्य फेरियो । दुवै टोलीका केही खेलाडी एकअर्कामाथि जाइलागे । धकेलाधकेल, भनाभन र तनावपूर्ण वातावरणले विश्वकप फाइनलको अन्त्यलाई अप्रिय बनाइदियो । तर यो एउटा घटना मात्र थियो ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको विश्वकप २०२६ लाई उत्कृष्ट फुटबल, नयाँ प्रतिभा र ऐतिहासिक उपलब्धिका लागि जति सम्झिइनेछ, त्यत्तिकै विवादका लागि पनि ।

यस विश्वकपमा रेफ्रीको निर्णयदेखि सामाजिक सञ्जालसम्म, राजनीतिदेखि प्रविधिसम्म, टिकटको कालोबजारीदेखि खेलाडीहरूको अभिव्यक्तिसम्म– विवादको सूची निकै लामो रह्यो । यस्ता छन् विश्वकप २०२६ का चर्चित १० कन्ट्रोभर्सी ।

कठघरामा भीएआर, अर्जेन्टिनालाई संरक्षण गरेको आरोप

भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)लाई मानव त्रुटि कम गर्ने प्रविधिका रूपमा प्रस्तुत गरिएको थियो । तर विश्वकप २०२६ मा यही प्रविधि सबैभन्दा धेरै आलोचित बन्यो । विशेषगरी अर्जेन्टिना सम्मिलित केही खेलमा भीएआरको छनोटपूर्ण प्रयोगलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भयो ।

केही अफसाइड निर्णय, पेनाल्टी रद्द गरिएका घटना र रेफ्रीले मनिटरमा हेरेपछि दिएका निर्णयले समर्थकहरूलाई दुई धारमा विभाजित गरिदियो । इजिप्टका प्रशिक्षक होसाम हसनले त खुला मञ्चमै अर्जेन्टिनालाई फाइदा पुर्‍याइएको आरोप लगाए । त्यसपछि एक्स, फेसबुक र टिकटकमा हजारौं भिडियो र विश्लेषण सार्वजनिक भए । कतिपय भिडियो एआईबाट सम्पादन गरिएका थिए भने कतिपय भ्रामक पनि थिए ।

भीएआरले त्रुटि घटाउने उद्देश्य बोकेको भए पनि विश्वकप २०२६ मा यसले अर्को प्रश्न जन्मायो—प्रविधि निष्पक्ष हुन सक्छ, तर त्यसलाई प्रयोग गर्ने मानिस कति निष्पक्ष छन् ?

डोनाल्ड ट्रम्पको ठाडो हस्तक्षेप

बोस्निया–हर्जगोभिनाविरुद्धको खेलमा रेड कार्ड पाएपछि अमेरिकी फरवार्ड फोलारिन बालोगन स्वतः एक खेलका लागि निलम्बित भएका थिए । तर त्यसपछि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग पटक–पटक सम्पर्क गरेर निलम्बन हटाउन दबाब दिएको समाचार सार्वजनिक भयो ।

त्यसलगत्तै फिफाले बालोगनको एक खेलको प्रतिबन्ध स्थगित गरिदियो र उनी बेल्जियमविरुद्धको अन्तिम–१६ को खेल खेल्न योग्य भए । निर्णय सार्वजनिक हुनेबित्तिकै युरोपेली फुटबल वृत्तमा तीव्र प्रतिक्रिया आयो । युरोपेली फुटबल महासंघका अध्यक्ष अलेक्जान्डर चेफेरिनले प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाए भने नर्वेजियन फुटबल संघले फिफाको नैतिकता समितिमा उजुरी दिने तयारी गर्‍यो ।

धेरै विश्लेषकले यसलाई विश्वकप इतिहासमै राजनीतिक हस्तक्षेपको सबैभन्दा विवादास्पद उदाहरण भने । यद्यपि फिफाले आफ्नो निर्णयको बचाउ गरिरह्यो । यो घटनाले एउटा गम्भीर प्रश्न छाड्यो– के विश्व फुटबलका नियमहरू सबैका लागि समान छन्, वा शक्तिशाली राष्ट्रका नेताको एउटा फोनले पनि निर्णय बदल्न सक्छ ?

एम्बाप्पे र पाराग्वेकी सांसदबीचको वाकयुद्ध

विश्वकप मैदानभित्र मात्र होइन, संसद् र सामाजिक सञ्जालसम्म पनि पुग्यो । फ्रान्सका कप्तान किलियन एम्बाप्पे र पाराग्वेकी सांसद सेलेस्टे अमारिलाबीचको सार्वजनिक वाकयुद्ध विश्वकपकै चर्चित घटनामध्ये एक बन्यो ।

अमरिल्लाले सामाजिक सञ्जालमार्फत एम्बाप्पेलाई ‘उपनिवेशवादी क्यामरुनी’ भन्दै घृणास्पद शब्द प्रयोग गरेकी थिइन् । एम्बाप्पेका बुबा क्यामरुनका मूल निवासी हुन् भने उनकी आमा अल्जेरियाली मूलकी हुन्। यद्यपि एम्बाप्पेको जन्म भने फ्रान्समै भएको हो ।

यसप्रति प्रतिक्रिया दिँदै एम्बाप्पेले लेखे, ‘म्याडम सेलेस्टे अमरिल्ला, तपाईं एक घृणित महिला हुनुहुन्छ र आफ्नो पदको लागि अयोग्य हुनुहुन्छ ।’एम्बाप्पेका समर्थकहरू पनि सामाजिक सञ्जालमा अमरिल्लामाथि जाइलागेका थिए । राजनीतिज्ञहरू, पूर्वखेलाडी र सञ्चारमाध्यमले समेत यस विषयमा धारणा राखे।

फाइनल सकिएपछि मैदानमै झडप

विश्वकपको फाइनल खेल फुटबलको सबैभन्दा महत्वपूर्ण क्षण मानिन्छ । तर यसपटक त्यो क्षण केही मिनेटमै तनावमा परिणत भयो । स्पेनले अर्जेन्टिनालाई १–० ले हराएर उपाधि जितेपछि दुवै टोलीका खेलाडीबीच भनाभन र हात हालाहाल सुरु भयो । अर्जेन्टिनाका खेलाडीले स्पेनका खेलाडीलाई पिटे ।

रेफ्री, प्रशिक्षक र सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपर्‍यो । विशेषगरी अर्जेन्टिनाका लेआन्ड्रो परेडेसको व्यवहार निकै आलोचित बन्यो । पछि सहायक प्रशिक्षक रोबर्टो आयालाले सार्वजनिक रूपमा माफी मागे । यो घटनालाई लिएर फिफाले छानबिन गरिरहेको छ ।

अत्यधिक गर्मी र हाइड्रेसन ब्रेक

अमेरिकाको गर्मीयाममा खेलिएका धेरै खेलमा तापक्रम निकै उच्च थियो । त्यसैले फिफाले अनिवार्य हाइड्रेसन ब्रेक राख्यो । तर यसले अर्को विवाद जन्मायो ।

कतिपय प्रशिक्षकले खेलको लय बिग्रिएको बताए । समर्थकहरूले टेलिभिजन प्रसारण लामो भएको गुनासो गरे । केही खेलाडीले मौसमका कारण आफ्नो प्रदर्शन प्रभावित भएको स्वीकारे । विश्व फुटबलमा जलवायु परिवर्तनको प्रभावबारे यस विश्वकपले नयाँ बहस सुरु गरिदियो । आगामी विश्वकपहरू आयोजना गर्दा मौसमलाई प्रमुख आधार बनाउनुपर्ने आवाज अझ बलियो बनेको छ ।

टिकटको कालोबजारी र महँगी

विश्वकप हेर्ने सपना लाखौं समर्थकको हुन्छ । तर विश्वकप २०२६ मा त्यो सपना धेरैका लागि निकै महँगो सावित भयो । आधिकारिक टिकट बिक्री सुरु भएको केही मिनेटमै अधिकांश खेल ‘सोल्ड आउट’ भए । त्यसलगत्तै पुनःबिक्री प्लेटफर्महरूमा टिकटको मूल्य आधिकारिक दरभन्दा कैयौं गुणासम्म पुगेको देखियो ।

फाइनल, सेमिफाइनल र लोकप्रिय टोलीका खेलका टिकट हजारौं डलरमा बिक्री भएको विवरण सार्वजनिक भए । समर्थकहरूको गुनासो केवल टिकटमा सीमित रहेन । पार्किङ शुल्क, होटल, यातायात र खानाको खर्चले पनि विश्वकपलाई इतिहासकै महँगो प्रतियोगितामध्ये एक बनायो ।

फिफाले कालोबजारी नियन्त्रणका उपाय अपनाएको दाबी गरे पनि समर्थकहरूले त्यसलाई पर्याप्त मानेनन् । सामाजिक सञ्जालमा एउटा टिप्पणी निकै चर्चित बन्यो, विश्वकप अब समर्थकका लागि होइन, धनी पर्यटकका लागि हुँदै गएको छ ।

भिसा र अध्यागमनको झन्झट

विश्वकप तीन देशमा आयोजना भए पनि अमेरिका प्रवेश प्रक्रिया धेरैका लागि टाउको दुखाइ बन्यो । केही समर्थकले लामो समयसम्म भिसा नपाएको गुनासो गरे । केही अधिकारी र रेफ्रीलाई पनि समयमै प्रवेश अनुमति नपाउँदा तालिकामै असर पर्ने अवस्था आयो ।

विशेषगरी सोमाली रेफ्री उमर अब्दुल कादिर आर्तनसँग जोडिएको अध्यागमन विवादले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रो स्थान पायो । खेलकुद प्रतियोगितामा राजनीतिक र सुरक्षा नीतिले असर गर्न थालेको भन्दै आलोचना भयो । यस घटनाले अर्को प्रश्न पनि उठायो—विश्वव्यापी प्रतियोगिता आयोजना गर्ने मुलुकले सबै सहभागीका लागि सहज प्रवेश सुनिश्चित गर्नुपर्ने कि नपर्ने ?

इरानको पीडादायी कथा

विश्वकपमा इरानको टिम सबैभन्दा ठगिएको टिम बन्यो । अमेरिकाको एरिजोनाको प्रशिक्षण बेस मेक्सिकोको टिजुआनामा सारियो । ११ जना स्टाफलाई भिसा नै दिइएन । खेलका लागि छोटो समय मात्र अमेरिका प्रवेश, खेलपछि फेरि फर्किने नियम लगाइयो ।

इजिप्टसँगको निर्णायक खेलमा स्टपेज टाइममा सोजा खालिजादेहले गरेको गोल भीएआरले केही मिलिमिटर अफसाइड भनेर रद्द गर्‍यो । कोच अमिर घलेनोइले ‘भगवान नै हाम्रो विरुद्धमा’ भने । कप्तानले ‘बिर्सनलायक विश्वकप’ भने । झण्डा प्रतिबन्ध, प्राइड म्याच विवाद र एन्टि रेजिम प्रदर्शनले इरानी टिमलाई राजनीतिक दबाबमा राख्यो ।

रोनाल्डोको प्रतिवन्ध फुकुवा

नोभेम्बर २०२५ मा भएको विश्वकप छनोट आयरल्यान्डविरुद्धको खेलका क्रममा पोर्चुगलका स्ट्इकर क्रिस्टियानो रोनाल्डोले विपक्षी डिफेन्डर दारा ओ’शिएलाई कुहिनोले प्रहार गरेपछि सोझै रातो कार्ड पाएका थिए ।

फिफाको नियम पुस्तिका अनुसार यस्तो व्यवहारका लागि कम्तीमा ३ खेलको प्रतिबन्ध लाग्ने प्रावधान छ । नियमअनुसार रोनाल्डोले छनोट चरणको अन्तिम खेल र विश्वकप २०२६ का सुरुवाती २ वटा समूह चरणका खेलहरू गुमाउनुपर्ने थियो ।

फिफाको अनुशासन समितिले अनुच्छेद २७ को प्रयोग गर्दै रोनाल्डोको २ खेलको प्रतिबन्धलाई १ वर्षको ‘परिक्षण काल’ मा राख्दै स्थगित गरिदियो । रोनाल्डोले अर्मेनियाविरुद्धको खेलमा १ खेलको प्रतिबन्ध भोगिसकेकाले उनलाई विश्वकपको पहिलो खेलबाटै खेल्न अनुमति दिइयो ।

आलोचक तथा खेल सञ्चारमाध्यमहरूले फिफाले विश्वकपको व्यापार, दर्शक र टीभी भ्युज बढाउन रोनाल्डोलाई विशेष सहुलियत दिएको आरोप लगाए । यो निर्णयलाई खेल जगतमा ‘रोनाल्डो रुल’को रूपमा चर्चा गरियो ।

फिफामाथि बढ्दो अविश्वास

विश्वकप २०२६ मा एउटा शब्द बारम्बार सुनियो– पारदर्शिता । भीएआर निर्णय, अनुशासनात्मक कारबाही, खेल तालिका, टिकट वितरण, रेफ्री छनोट र विभिन्न प्रशासनिक निर्णयलाई लिएर फिफामाथि प्रश्न उठिरहे । कुनै एउटा निर्णयले मात्र होइन, धेरै साना विवादहरूको श्रृंखलाले समर्थकहरूको अविश्वास बढाएको देखियो ।

पूर्वखेलाडी र विश्लेषकहरूले पनि फिफाले आफ्ना निर्णयको आधार अझ स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने सुझाव दिए । आधुनिक फुटबलमा पारदर्शिता केवल राम्रो अभ्यास होइन, विश्वास कायम राख्ने आधार बन्न थालेको उनीहरूको तर्क थियो ।

Logo