एसियाड कबर्डीमा नेपालको समूहमा चाइनिज ताइपेई

एसियाड कबर्डीमा नेपालको समूहमा चाइनिज ताइपेई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यसपटकको एसियाडमा नेपाली महिला कबड्डी टोली साबिक रजत विजेता चाइनिज ताइपेई, श्रीलंका र थाइल्यान्डसँग समूह ‘बी’ मा परेको छ।
नेपाली पुरुष टोली पनि यसपटक सहभागी हुँदैछ र समूह ‘बी’ मा थाइल्यान्ड, पाकिस्तान, मलेसिया र इरानसँग प्रतिस्पर्धा गर्नेछ।

१९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने २० औं एसियाली खेलकुदका लागि बिहीबार समूहगत खेलहरूको ‘ड्र’ भएको हो। त्यसअनुसार कबड्डीको महिलातर्फ नेपाल समूह ‘बी’ मा श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईसँगै परेको छ।

समूह ‘ए’ मा इरान, आयोजक जापान, बंगलादेश र भारत रहेका छन्। हाङचाउमा भारतले स्वर्ण, चाइनिज ताइपेईले रजत तथा नेपाल र इरानले कांस्य जितेका थिए। पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको नेपालले दोस्रो खेलमा इरानसँग ४३–१९ ले पराजित भयो। समूह ‘बी’ इरानले बंगलादेशलाई ५४–१६ ले हराएपछि इरानसँगै नेपालले पनि सेमिफाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनलमा भारतसँग ६१–१७ ले पराजित भएपछि नेपाल कांस्य पदकमा सीमित भएको हो। यद्यपि टिम खेलमा एसियाडमै नेपाल पहिलो कांस्य जित्न सफल भयो।

यसपालि जापान एसियाडमा पुरुष कबड्डी टोलीको पनि सहभागिता रहनेछ। ‘ड्र’ अनुसार समूह ‘बी’ मा नेपालसहित थाइल्यान्ड, पाकिस्तान, मलेसिया र इरान रहेका छन्। अर्को समूह ‘ए’ मा बंगलादेश, दक्षिण कोरिया, चाइनिज ताइपेई, जापान र भारत रहेका छन्। हाङचाउमा नेपाली पुरुष टोलीको सहभागिता थिएन। हाङचाउमा भारतले इरानलाई ३३–२९ अंकले हराएर स्वर्ण जितेको थियो। चाइनिज ताइपेई र पाकिस्तानले कांस्य जितेका थिए।

एसियाड तयारीका लागि नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा गएको छ। त्यहाँ नेपालले एक महिनाभन्दा बढी समय प्रशिक्षण गर्ने नेपाल कबड्डी संघले जनाएको छ।

Logo