सान इसिद्रो । दिवंगत फुटबलका दिग्गज डिएगो म्याराडोनाको उपचारमा संगल्न चिकित्सकीय टोलीको कानुनी सुनुवाइ अझै चलिरहेको छ। यो उत्तिकै तनाव र आक्रोशपूर्ण रहेको छ, जति म्याराडोनाको खेलजीवन आफैंमा अशान्त र उतारचढावपूर्ण थियो।
सन् २०२० मा म्याराडोनाको निधन भएको थियो। यसपछि सात स्वास्थ्यकर्मीमाथि लापरबाहीको आरोप लागेको थियो। अप्रिलबाट कानुनी प्रक्रिया सुरु भएको हो। शल्यक्रिया भएको दुई सातापछि नै ‘हार्ट फेलियर’ र ‘एक्युट पाल्मोनरी एडिमा’ का कारण उनको मृत्यु भएको थियो।
यस मुद्दाको सुनुवाई अगस्टमै सकिनुपर्ने थियो। तर ७० साक्षी र प्रतिवादीको बयान तथा २५ भन्दा बढी पटक सुनुवाइ भइसक्दा पनि यो कानुनी नाटक कहिले सकिने हो, त्यो टुंगो छैन र उल्टै अनिश्चित छ।
म्याराडोनाको मृत्यु प्राकृतिक कारणले भएको दाबी गर्ने प्रतिवादीले म्याराडोनाका छोरीसँग अदालतमा महिनौं बिताइसकेका छन्। कानुनी प्रक्रिया अर्को महिनामा प्रवेश गर्दा यो असाध्यै नाटकीय बनेको छ। म्याराडोनाका निजी चिकित्सक लियोपोल्डो लुक नै मुख्य अभियुक्त छन्। धेरैले उनलाई नै म्याराडोनाको मृत्युको मुख्य जिम्मेवार मानेका छन्।
तर उनले कानुनी प्रक्रियामा शूक्ष्म र सतर्क रणनीति अपनाएका छन्। उनी हरेक सुनुवाइमा उपस्थित रहेका छन्। कुनै बयान आफूविरुद्ध जोडिने बित्तिकै उनी कडा आपत्ति जनाउने गर्छन् र आफ्नो तर्क प्रस्तुत गर्छन्। यी चिकित्सकले अहिलेसम्म ९ पटक पटक आफैं हस्तक्षेप गरेर बयान दिएका छन्। त्यस क्रममा उनले अडियो रेकर्डिङ बजाउने र वैज्ञानिक शोधपत्र प्रस्तुत गर्ने जस्ता काम गरेका छन्।
एक पटक उनले म्याराडोनाको पोस्टमार्टमको भिडियो देखाउन आफ्नै वकिलसँग प्राविधिक प्रक्रियाबारे सोधेका थिए। त्यसै क्रममा लुकको समूहले अदालतमै त्यस भिडियो देखाएका थिए। म्याराडोनाकी छोरी रुँदै अदालतबाट बाहिरिएकी थिइन्। त्यसपछि सुनुवाइ नै स्थगित गर्नुपरेको थियो। अदालतमा भएका बहस र विवादले न्यायाधीश आफैं रेफ्रीको भूमिकामा देखिनुपरेको छ।
कानुनी प्रतिनिधिबीचको एउटा पेचिलो बहसपछि न्यायाधीश अल्बर्टो गाइगले भनेका थिए, ‘बच्चाहरूलाई जस्तै वकिकलाई रोक्न सजिलो छैन।’ म्याराडोनाकी छोरीको तर्फबाट लडिरहेका वकिल फर्नान्डो बुर्लान्डो र प्रतिवादीका वकिल फ्रान्सिस्को ओनेटोबीचको बहसले पनि यो मुद्दा कहिले सकिने हो, त्यो अनिश्चित भएको हो। बुर्लान्डोले एकपल्ट आफ्ना समकक्षीलाई विद्यालयमा गएर पढ्नु भनेर भनेका थिए।
त्यसको जवाफमा ओनेटोले पनि ती सबै आरोप फिर्ता लिन भनेका थिए। उनीहरूबीच चलेको भनाभनको कारण एउटा सुनुवाइ नै स्थगित गर्नुपरेको थियो। त्यसलगत्तै उनीहरूले मिडियासामु एक अर्कोलाई गाली गर्न भने छाडेनन्। यो सबै प्रक्रियामा फुटबलमा प्रशंसक तथा म्याराडोनाका समर्थकले असाध्यै धेरै रूचि लिएर लगातार पछ्याइरहेका छन्। एएफपी




















