काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले कंग्रेसको पूर्वस्वीकृतिबिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सञ्चालन गरिरहेको सैन्य कारबाहीलाई सीमित गर्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ । यसलाई इरानसँगको द्वन्द्वमा राष्ट्रपतिले अपनाएको नीतिप्रति सांसदहरूले व्यक्त गरेको पछिल्लो ठूलो असहमतिको रूपमा हेरिएको छ ।
डेमोक्रेटिक सांसद प्रमिला जयपालले प्रस्तुत गरेको उक्त प्रस्तावको पक्षमा चार रिपब्लिकन सांसदले डेमोक्र्याटहरूसँगै मतदान गरेका थिए । प्रस्तावको पक्षमा २१४ र विपक्षमा २०८ मत परेको थियो ।
अब अमेरिकी माथिल्लो सदन सिनेटले पनि यस्तै प्रकृतिको प्रस्तावमाथि चाँडै मतदान गर्ने अपेक्षा गरिएको छ । यद्यपि, सिनेटबाट प्रस्ताव पारित भए पनि त्यसले डोनाल्ड ट्रम्प प्रशासनलाई युद्ध अन्त्य गर्न कानुनी रूपमा बाध्य पार्ने छैन ।
किनभने, यो ‘कन्करेन्ट रिजोल्युसन’ भएकाले राष्ट्रपतिकहाँ हस्ताक्षर वा भिटोका लागि पठाइँदैन । त्यसैले यस्ता प्रस्तावहरूलाई कानुनसरह बाध्यकारी मान्यता प्राप्त हुँदैन ।
यद्यपि, कानुनी रूपमा बाध्यकारी नभए पनि प्रतिनिधिसभाबाट पारित यो प्रस्तावलाई राष्ट्रपति ट्रम्पको इरान नीतिप्रति अमेरिकी सांसदहरूको गम्भीर असन्तुष्टि र चेतावनीका रूपमा हेरिएको छ ।
हालै समाप्त भएको युद्धविरामपछि अमेरिका–इरानबीच पुनः चर्किएको द्वन्द्वका बीच यो मतदान भएको हो । प्रतिनिधिसभाले ट्रम्पको युद्ध सञ्चालनसम्बन्धी अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको यो दोस्रोपटक हो । साथै, अमेरिका–इरानबीचको सहमतिपत्र भंग भएपछि यस्तो प्रस्ताव पारित भएको भने यो पहिलो घटना हो ।
डेमोक्रेटिक सांसदहरूले प्रतिनिधिसभा र सेनेट दुवैमा ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्न पटक–पटक प्रस्ताव ल्याउँदै आएका छन् । इरानसँगको जारी द्वन्द्वलाई लिएर रिपब्लिकन पार्टीभित्र पनि मतभेद बढ्न थालेको संकेत देखिएको छ । यसपटक चार रिपब्लिकन सांसदले पनि प्रस्तावको पक्षमा मतदान गरेपछि क्यापिटल हिलमा ट्रम्पको युद्ध नीतिमाथिको बहस थप तीव्र हुने अनुमान गरिएको छ ।




















