फिनिक्स, युनिभर्सल र आर्यन कलेजको संयुक्त आयोजनामा ‘जब प्लेसमेन्ट २०२६’ सम्पन्न

फिनिक्स, युनिभर्सल र आर्यन कलेजको संयुक्त आयोजनामा ‘जब प्लेसमेन्ट २०२६’ सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र आर्यन स्कुल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा ‘जब प्लेसमेन्ट २०२६’ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई रोजगारदातासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ।

कार्यक्रममा २८ भन्दा बढी जब प्लेसमेन्ट पार्टनर कम्पनीहरूको सहभागिता रहेको थियो । यस्तै, १०० भन्दा बढी विद्यार्थीले रोजगारका सम्भावित अवसरबारे जानकारी लिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति डा. उपेन्द्र कोइरालाले वर्तमान तीव्र परिवर्तनशील समयमा प्राज्ञिक संस्था र उद्योग क्षेत्रबीचको सहकार्य अपरिहार्य बनेको बताए। उनले कृत्रिम बौद्धिकता (एआई), डिजिटल रूपान्तरण तथा नयाँ प्रविधिको विकासले परम्परागत कार्यशैली र रोजगारीका क्षेत्रलाई निरन्तर परिवर्तन गरिरहेको उल्लेख गर्दै उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्य अब विकल्प नभइ आवश्यकता भएको धारणा राखे।

आर्यन स्कुल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल इन्जिनियर देवराज जोशीले विद्यार्थीलाई बजारको आवश्यकताअनुरूप दक्ष र प्रतिस्पर्धी बनाउन कलेजले निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले प्रत्येक सेमेस्टरमा आईटी, म्यानेजमेन्ट तथा इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित सीप विकास तालिम र प्रमाणपत्रमूलक पाठ्यक्रम सञ्चालन भइरहेको बताए।

जोशीका अनुसार ‘जब प्लेसमेन्ट २०२६’ मार्फत ७० भन्दा बढी रोजगारीका अवसर खुला गरिएको थियो। यसले विद्यार्थीलाई आफ्नो क्षमता, योग्यता र सीप प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उनले बताए।

फिनिक्स एजुकेशन फाउन्डेसनका कार्यकारी अध्यक्ष तथा फिनिक्स कलेजका चेयरम्यान भरत गिरीले २१औँ शताब्दीमा शिक्षित युवाहरूले अवसरको खोजीमा विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न नयाँ सोच, सिर्जनशीलता र नवीन अवधारणामा जोड दिनुपर्ने बताए। उनले विद्यार्थीको क्षमता र दक्षताको मूल्यांकन गर्दै उनीहरूलाई प्रतिस्पर्धी बनाउन तथा कम्पनीहरूलाई आवश्यक जनशक्ति छनोट गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे।

केन्द्रबिन्दुसँग कुरा गर्दै गिरीले अध्ययनसँगै बजारमा आवश्यक पर्ने व्यावहारिक ज्ञान, सीप र दक्षता प्रदान गर्न कलेजले विभिन्न प्राविधिक, व्यवस्थापकीय, हस्पिटालिटी तथा इन्जिनियरिङ विषयमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको जानकारी दिए। आगामी दिनमा पनि विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै रोजगारका अवसर सिर्जना गर्ने र सिर्जनशील युवालाई बजारअनुकूल अवसर उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे।

युनिभर्सल कलेजका बिबिए छैटौँ सेमेस्टरका विद्यार्थी कपिल रेग्मीले ‘जब प्लेसमेन्ट’ कार्यक्रम विद्यार्थीका लागि निकै उपयोगी रहेको बताए। व्यक्तिगतरूपमा कम्पनीसम्म पुगेर अवसर खोज्न कठिन हुने अवस्थामा कलेजले आयोजना गरेको यस्ता कार्यक्रमले विद्यार्थी र रोजगारदाताबीच सहज सम्बन्ध स्थापित गराएको उनको भनाइ थियो।

कार्यक्रमपछि केन्द्रबिन्दुसँग प्रतिक्रिया दिँदै युनिभर्सल कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवालीले दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस कार्यक्रमले शैक्षिक संस्था र श्रम बजारबीचको दूरी घटाउन महत्वपूर्ण भूमिका खेलेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो क्षमता मूल्यांकन गर्ने अवसर दिनुका साथै कम्पनीको आवश्यकता र दक्ष जनशक्तिबीचको तालमेल मिलाउन सहयोग पु¥याउने उनको भनाइ छ।

ज्ञवालीले समयअनुकूल शिक्षा प्रणाली विकास गर्न ज्ञान, सीप र दक्षता गरी तीनवटा पक्षमा विशेष ध्यान दिइएको बताए। यी तीनै पक्षको संयोजनमार्फत विद्यार्थीलाई बजारका लागि तयार पारिएको र यसपटक करिब ३० वटा रोजगारीका अवसर पूर्ति गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल फत्तबहादुर केसीले कार्यक्रमले विद्यार्थीलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न तथा व्यावसायिक भविष्य निर्माणका लागि मार्गदर्शन प्रदान गरेको बताए। उनले विद्यार्थीको रुचि, क्षमता र काम गर्ने क्षेत्र पहिचान गर्नसमेत कार्यक्रम उपयोगी बनेको उल्लेख गरे। कलेज, रोजगारदाता र विद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले पुलको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

कार्यक्रममा फिनिक्स एजुकेशन फाउन्डेसनका कार्यकारी अध्यक्ष भरत गिरी, फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल प्रा. फत्तबहादुर केसी, युनिभर्सल कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, आर्यन स्कुल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल इन्जिनियर देवराज जोशी, नेटवर्क डाइरेक्टर राजु टण्डन, विभिन्न कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा सहभागी विभिन्न कर्पोरेट साझेदार कम्पनी, प्रतिनिधि तथा विशेष अतिथिलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो।

Logo