काठमाडौं । नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै देशभर यसको शो संख्या निरन्तर बढिरहेको छ निर्माण पक्षको दाबी छ ।
निर्देशक डा. कपिल रिजालले चलचित्र विकास बोर्डले हरेक सोमबार आधिकारिक बक्सअफिस तथ्यांक सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले छुट्टै विवरण सार्वजनिक नगरेको बताए ।
उनले व्यापारभन्दा पनि फिल्मले पाएको दर्शकको माया र दिएको सन्देश विशेष रहेको बताए । ‘हामीले फिल्ममार्फत फरक क्षमता भएका व्यक्तिसँग समाज र परिवारले गर्नुपर्ने व्यवहार र छोरीलाई पढाउनु पर्छ भन्ने दिएको सन्देश दर्शकसम्म पुगेको छ, यो महत्वपूर्ण हो । फिल्मको व्यापार पनि राम्रो छ। तर, हामी कलात्मक पक्षमा बढी केन्द्रित छौं,’ निर्देशक रिजालले भने ।
चलचित्र निर्माणमा लाग्नुको कारणबारे डा. रिजालले पुस्तौंदेखि बग्दै आएको कला, साहित्य र संस्कृतिप्रतिको मोहको निरन्तरता भएको प्रस्टाए ।
उनका अनुसार कला र साहित्यप्रतिको आकर्षण उनीभित्र एकाएक पैदा भएको होइन हजुरबुबा साहित्यकार, पिता वरिष्ठ चिकित्सक डा. भोला रिजाल साहित्य, संगीत र चलचित्रमा सक्रिय रहनु, घरमै सिर्जनात्मक वातावरण हुनु यिनै कुराले बाल्यकालदेखि उनलाई अभिनय र कथाप्रति आकर्षित गरायो ।
विद्यालय, कलेज हुँदै चिकित्सा अध्ययनका क्रममा पनि उनले छोटा चलचित्र, म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिए । पेशाले दन्त चिकित्सक भए पनि सिर्जनाको हुटहुटी कहिल्यै रोकिएन ।
डा. रिजालका चलचित्रमा स्वास्थ्य, शिक्षा र सामाजिक विषय किन बारम्बार आउँछन् भन्ने प्रश्नको उत्तर पनि उनको जीवन अनुभवमै भेटिन्छ ।
उनका अनुसार आफू त्यही परिवेशमा हुर्किएकाले कथा पनि त्यहीँबाट जन्मिन्छन् । ‘यदि म बैंकरको छोरो भएको भए बैंकिङका कथा भन्न सक्थेँ होला। हामी स्वास्थ्य र शिक्षाको वातावरणमा हुर्कियौँ । त्यसैले ती विषय हाम्रो सिर्जनाको केन्द्रमा आउँछन्,’उनी भन्छन् ।
उनका लागि स्वास्थ्य र शिक्षा हरेक नेपालीको आधारभूत अधिकार हुन् । त्यही विश्वासले उनका कथाहरूलाई सामाजिक संवेदनासँग जोड्ने गर्छ ।
यसअघि ‘ह्यारी कि प्यारी’ निर्देशन गरिसकेका रिजालले यसपटक फरक बाटो रोजेका हुन् । करिब २५ वर्षअघि उनका पिता डा. भोला रिजालले बनाएको ‘गौँथली’बाट प्रेरित हुँदै नयाँ पुस्ताका लागि आधुनिक प्रविधिसहित पुनः व्याख्या गरिएको संस्करण तयार गरिएको हो ।
उनका अनुसार चलचित्रको उद्देश्य नेपाली भाषा, संस्कृति, भेषभूषा, संगीत र गाउँको जीवनलाई आधुनिक सिनेमाटिक प्रस्तुतीमार्फत समयभन्दा पर टिक्ने कृतिका रूपमा स्थापित गर्नु हो । प्रदर्शनको सुरुवातमा करिब २०० शो पाएको फिल्मले हाल २५० भन्दा बढी शो पाइसकेको निर्माण पक्षको दाबी छ । अधिकांश हलमा दर्शकको चाप बढ्दै जाँदा व्यापारिक प्रदर्शन पनि उत्साहजनक रहेको जनाइएको छ।
निर्देशक, कलाकार र निर्माण टिम काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिइरहेका छन्।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा.कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्तरूपमा तयार गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।




















