काठमाडौं, ३०, कात्तिक
आगामी प्रतिनिधिसभा निर्वाचनबाट बढीमा ६ दल मात्र संसदमा पुग्ने सम्भावना छ । राजनीतिक दल सम्बन्धी ऐन अनुसार राष्ट्रिय दलको मान्यता पाउन र समानुपातिकको बाँडफाँडमा सहभागी हुन प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनैपर्छ । स्थानीय तह निर्वाचनमा कुल १ करोड ४१ लाख मत मध्ये ९१ लाख २६ हजार ७०४ मत खसेको थियो । यसको ३ प्रतिशत मत २ लाख ७३ हजार ८०१ हो । निर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपाले मात्रै ३ प्रतिशत मत कटाएका छन् । राप्रपाले २ लाख ९० हजार मत पाएको थियो । त्यस्तै राजपाले २ लाख ५१ हजार मत ल्याएको थियो । स्थानीय तह निर्वाचनको भन्दा अहिले मतदाताको संख्या पनि बढेर १ करोड ५४ लाख पुगेको छ ।
प्रत्यक्षतर्फ एक सिट जित्ने दलले समानुपातिकमा ३ प्रतिशत मत कटाएन भने उक्त पार्टीको निर्वाचित सांसद स्वतन्त्र हैसियतमा हुन्छ । त्यस्तै प्रत्यक्षमा एक सिट पनि नजितेको दलले समानुपातिकमा ३ प्रतिशत कटाएर सांसद जिते पनि उनीहरू समेत स्वतन्त्र हैसियतकै हुन्छन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार अहिलेको ऐन अनुसार समानुपातिक निर्वाचनबाट कम्तीमा ४ सांसद निर्वाचित हुन्छन्, विगतको निर्वाचन जस्तो एक पार्टीबाट एकजना मात्रै सांसद निर्वाचित हुँदैनन् । स्थानीय तहको मतलाई आधार मान्ने हो भने ३ प्रतिशत मत कटाउन राप्रपा र राजपालाई पनि सहज छैन । ३१ वैशाख र १४ असारको स्थानीय तह निर्वाचनमा राप्रपा विभाजित थिएन । गत भदौमा राप्रपा विभाजित भएर कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणाको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) बनेपछि राप्रपाको मत पनि विभाजित हुनेछ । तराई केन्द्रित दल राजपाले पनि २ असोजको स्थानीय तह निर्वाचनमा २ लाख ५१ हजार मत मात्रै ल्याएको थियो । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेका कारणले मत संख्या कम आएको राजपा नेताहरूको जिकिर छ । तर अहिले मतदाता संख्या पनि बढेको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया