अध्यक्ष ओलीको रोजाईमा मेन्याङ्बो परेपछि मुख्यमन्त्री कार्कीको पद धरापमा

अध्यक्ष ओलीको रोजाईमा मेन्याङ्बो परेपछि मुख्यमन्त्री कार्कीको पद धरापमा

केन्द्रबिन्दु
24
Shares

विराटनगर । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसंगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने चर्चा सुरु भएको छ ।

एमाले उच्च स्रोतका अनुसार केन्द्रीय नेतृत्वले वहालवाला मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिस्थापन गर्दै मेन्याङ्बोलाई नेतृत्व दिने तयारी गरेको छ । अन्तिम निर्णय आइतबार नै हुन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीको भागमा परेको छ । त्यससंगै कोशीमा सरकार पुनर्गठनको गृहकार्य पनि अघि बढेको छ ।

एमाले उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले कोशीको नेतृत्व परिवर्तनलाई प्राथमिकतामा राखेका थिए । पछिल्लो समय ओली र मुख्यमन्त्री कार्कीबीच सम्बन्ध अपेक्षाकृत सहज नरहेको र त्यसकै प्रभाव नेतृत्व परिवर्तनमा परेको एक प्रदेश सांसदले बताए । ‘अध्यक्ष ओली कार्कीलाई जसरी भएपनि रिप्लेस गर्ने नै मनस्थितिमा देखिनु भएको छ’, ती सांसदले दाबी गरे,‘यसपटक नयाँले मौका पाउने पक्का छ ।’

ताप्लेजुङ–१ (१) बाट निर्वाचित मेन्याङ्बो प्रदेश संसदीय दलका उपनेता हुन् । कार्की नेतृत्वको पहिलो प्रदेश सरकारमा उनले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा केही समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालेको अनुभव उनीसंग छ । २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई उनी राष्ट्रिय राजनीतिमा सक्रिए बनेका थिए ।

एमाले कोशीका प्रमुख सचेतक रमेश बस्नेतले भने मुख्यमन्त्रीको विषयमा प्रदेश कमिटीमा औपचारिक छलफल नभएको दावी गरेका छन् । ‘प्रदेशले निर्णय गर्दा कार्कीलाई नै निरन्तरता दिने सम्भावना छ’, उनले भने,‘केन्द्रले निर्णय गर्यो भने नयाँले मौका पाउने सम्भावना देखिन्छ ।’

Logo