काठमाडौं । नेपाली पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) २०० पटक सफलतापूर्वक आरोहण गर्दै नेपाली पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास रचेका छन्।
रुसको स्थानीय समयअनुसार शनिबार बिहान ६:२० बजे एल्ब्रसको शिखरमा पुगेसँगै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। एउटै हिमाल २०० पटक सफलतापूर्वक आरोहण गर्नु विश्व पर्वतारोहणमै दुर्लभ उपलब्धिका रूपमा लिइन्छ।
२००औँ आरोहणसम्म पुग्ने यात्रामा तामाङले लगातार अन्तर्राष्ट्रिय आरोही टोलीहरूको नेतृत्व गरेका थिए। उनले जुलाई २२ मा १९८औँ र जुलाई २३ मा १९९औँ सफल आरोहण पूरा गरेपछि जुलाई २५ मा बहुप्रतीक्षित २००औँ आरोहण सम्पन्न गरेका हुन्।
यो विशेष अवसरमा उनले एल्ब्रसको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराए। तामाङले विगतदेखि नै प्रत्येक सफल आरोहणमा नेपाली झण्डा शिखरमा पुर्याउँदै विश्व पर्वतारोहण क्षेत्रमा नेपालको पहिचान र नेपाली पर्वतारोहीहरूको योगदानलाई निरन्तर प्रवर्द्धन गर्दै आएका छन्।
सोलुखुम्बुमा जन्मिएका तामाङले पर्वतारोहणसम्बन्धी सीप र अनुभव बटुल्दै सन् १९९५ देखि व्यावसायिक रूपमा आरोहण यात्रालाई निरन्तरता दिएका हुन्। सन् २००२ देखि उनी रुसमा बस्दै आएका छन्। त्यहीँ रहँदा उनले एल्ब्रस हिमाल २०० पटक आरोहण गर्ने लक्ष्य बनाएका थिए, जुन अहिले सफलतापूर्वक पूरा भएको छ।
हाल तामाङले नेपाल र रुस दुवै देशमा सक्रिय रूपमा पर्वतारोहण गतिविधि सञ्चालन गरिरहेका छन्। नेपालमा उनी रुसी आरोहीहरूलाई विभिन्न हिमाल आरोहण गराउँछन् भने रुसमा अन्तर्राष्ट्रिय आरोहीहरूलाई एल्ब्रस आरोहण गराउने जिम्मेवारी सम्हालिरहेका छन्।
एल्ब्रसबाहेक तामाङले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा, चोयु, मनास्लु, अमादब्लम, बरुन्त्से, आइसल्यान्ड पिक र मेरा पिकलगायतका चर्चित हिमालहरू पनि सफलतापूर्वक आरोहण गरिसकेका छन्।




















