बागमतीको आगामी मुख्यमन्त्रीमा एमालेका थपलिया, पोखरेल र थापाको चर्चा

बागमतीको आगामी मुख्यमन्त्रीमा एमालेका थपलिया, पोखरेल र थापाको चर्चा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग शनिबार (साउन ९ गते) भएको सत्ता साझेदारीको सहमति भएसँगै नेकपा एमालेमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को बन्ने भनेर चर्चा सुरु भएको छ ।

एमालेको बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया रहे पनि मुख्यमन्त्रीमा भने अन्य सांसदको नाम पनि छलफलमा छ। चितवन १ (१) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थपलिया निर्विरोध संसदीय दलको नेता चयन भएका हुन्।

बागमतीका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको पहलमा दलको नेता बनेका थपलियाले यसअघि नै मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर पछिल्लो समय पूर्वमुख्यमन्त्री पौडेल पूर्वराष्ट्रपतिसमेत रहेकी पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीनिकट देखिन थालेपछि त्यसको ‘साइड इफेक्ट’ थपलियालाई समेत पर्न थालेको थियो।

यद्यपि उनले अध्यक्ष केपी शर्मा ओलीको ‘लाइन’ छाडेका छैनन्। यसैले दलको नेताकै हैसियतमा बागमतीको मुख्यमन्त्रीमा थपलियाको दाबी बलियो रहने चर्चा छ।

बागमती प्रदेशसभामा दुई कार्यकाल निर्वाचित भएका पूर्वमन्त्री केशवप्रसाद पोखरेल पनि मुख्यमन्त्री पदको दौडमा छन्। एमालेको संसदीय विधानमा दलको नेता नै मुख्यमन्त्री बन्ने भन्ने उल्लेख नभएका कारण संसदीय दलको सहमतिअनुसार अन्य सांसद पनि मुख्यमन्त्री बन्न पाउने छन्।

सोही कारण बागमती सरकारको आगामी मुख्यमन्त्रीमा एमालेका तीन सांसदबिच प्रतिस्पर्धा हुने देखिएको छ। जसमध्ये काठमाडौँ ९ (२) बाट निर्वाचित पोखरेल पनि एक हुन्। सोही निर्वाचन क्षेत्रबाट दुईकार्यकाल निर्वाचित भएका उनले वरिष्ठताकै आधारमा मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको एमाले नेताहरू बताउँछन्।

दुईपटक छोटो समयका लागि मात्रै मन्त्री भएका पोखरेललाई नै मुख्यमन्त्री बनाउन एमालेका शीर्ष तहबाटै दबाब आइरहेको छ। एमालेको गत महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचन लडेका उनी पराजित भएका थिए।

यस्तै बागमतीको मुख्यमन्त्री बन्ने चर्चामा रहेको अर्का एमाले प्रदेशसभा सदस्य हुन्- किरण थापा। भक्तपुर २ (१) बाट प्रदेश सांसद निर्वाचित थापाले बागमती सरकारको नेतृत्व लिनसक्ने चर्चा छ।

एमाले अध्यक्ष ओली र सचिव महेश बस्नेतनिकट थापालाई मुख्यमन्त्री बनाउनकै लागि बागमती प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति नेकपासँग भएको एकथरी एमाले नेताहरूको दाबी छ। दुईपटक स्वास्थ्य मन्त्री भएका थापाको कार्यसम्पादनकै आधारमा नेतृत्वमा दाबी गर्ने तयारी छ। एमाले सचिव बस्नेतका विश्वासपात्र थापा मुख्यमन्त्रीको बलिया दाबेदार मानिएका छन्।

‘बागमतीको मुख्यमन्त्री एमालेले लिने भन्ने लिखित सहमति भयो, तर अब को मुख्यमन्त्री बन्ने भन्ने कुरा पनि पार्टीको शीर्ष तहले नै टुंग्याउने विषय भयो, निवर्तमान मन्त्रीसमेत रहेका किरण थापाले भने, ‘नेतृत्व कसले लिने भन्ने छलफल हुँदै होला। हाम्रो दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भन्ने छैन। अहिले नै म बन्ने अथवा अन्य को बन्ने, थाहा छैन। मलाई लाग्छ- जसले नेतृत्व लिए पनि आइतबारसम्म टुंगिन्छ।’

बागमती प्रदेशसभामा एमालेका २५ सांसद छन्। मुख्यमन्त्री पदका आकांक्षी एमाले प्रदेश सांसदहरूले पार्टीको नेतृत्व तहसँग भेटघाट, आन्तरिक छलफल र राजनीतिक समन्वयलाई तीव्र बनाएका छन्। उनीहरूले आफ्नो राजनीतिक अनुभव, संगठनमा योगदान र प्रदेश सरकार सञ्चालनको क्षमता प्रस्तुत गर्दै नेतृत्वको विश्वास जित्ने प्रयास गरिरहेका छन्।

यद्यपि मुख्यमन्त्री कसलाई बनाउने भन्ने अन्तिम निर्णय भने एमालेको शीर्ष नेतृत्वले नै गर्ने बताइएको छ। पार्टी अध्यक्ष तथा शीर्ष नेताहरूबिचको छलफलपछि संसदीय दललाई आवश्यक निर्देशन दिइने र त्यसपछि मुख्यमन्त्रीको नाम टुंगो लाग्ने स्रोतको भनाइ छ। एमालेले मुख्यमन्त्रीको नाम टुंग्याएपछि नेकपासँग मन्त्रालयको बाँडफाँट र सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने छ।

Logo