खाडी क्षेत्रका अमेरिकी अखडामाथिको आक्रमणमा इरानलाई रुसले सहयोग गरेको आशंका

खाडी क्षेत्रका अमेरिकी अखडामाथिको आक्रमणमा इरानलाई रुसले सहयोग गरेको आशंका

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच बिहीबार फिलिपिन्सको मनिलामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सम्मेलनका क्रममा भेटवार्ता भएको छ ।

औपचारिक रूपमा युक्रेन युद्धनै वार्ताको मुख्य एजेन्डा भए पनि पछिल्ला रिपोर्टहरूले मध्यपूर्वमा इरानले अमेरिकी सैन्य तथा गुप्तचर केन्द्रहरूमाथि गरेका आक्रमणमा रुसको सम्भावित भूमिकाबारे नयाँ प्रश्न उठाएका छन् ।

अमेरिका र इजरायलबीच इरानविरुद्ध युद्ध सुरु भएको केही दिनमै इरानले अमेरिकी गुप्तचर संस्था सीआईएसँग सम्बन्धित अखडाहरूलाई निशाना बनाएको समाचार सार्वजनिक भएको थियो ।

युद्धको तेस्रो दिन, मार्च ३ मा द वासिङ्टन पोस्टले रियादस्थित अमेरिकी दूतावासमा रहेको सीआईए स्टेसनलाई निशाना बनाइएको जनाएको थियो । त्यसपछि मार्च ६ मा सीएनएनले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै मस्कोले तेहरानलाई खाडी क्षेत्रमा रहेका अमेरिकी सैनिक र विमानहरूको अवस्थिति पत्ता लगाउन सहयोग गरिरहेको रिपोर्ट प्रकाशित गरेको थियो ।

हालै रोयटर्सले पनि विशेषगरी साउदी अरबस्थित अमेरिकी दूतावास परिसरमा रहेका सीआईएका संरचनामाथि इरानी ड्रोनद्वारा गरिएका आक्रमणले अमेरिकी गुप्तचर निकायलाई सम्भावित रुसी संलग्नताबारे अनुसन्धान गर्न प्रेरित गरेको जनाएको छ । रिपोर्टका अनुसार ती आक्रमणको उच्च सटीकताले रुसी सहयोग भएको हुन सक्ने आशंकालाई बल पुर्‍याएको छ ।

पेरिसस्थित साइन्सेज पो विश्वविद्यालयको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रकी सहायक प्राध्यापक निकोल ग्राजेव्स्कीले इरानले यस्ता लक्ष्य छनोट गर्न रुसको सहयोग पाएको हुन सक्ने सम्भावनालाई यथार्थपरक बताएकी छन् ।

अल जजिरासँग कुरा गर्दै उनले इरानले पछिल्ला आक्रमणहरूमा पहिलेभन्दा निकै उन्नत क्षमता प्रदर्शन गरेको बताइन् । उनका अनुसार इरानसँग रुसजस्तो उन्नत अन्तरिक्ष तथा सैन्य–स्तरका उपग्रह प्रणाली नभएकाले रुससँग कुनै न कुनै प्रकारको सहकार्य भएको हुन सक्ने सम्भावना देखिन्छ ।

यद्यपि, उनले इरानसँग खाडी क्षेत्रमा आफ्नै मानवीय गुप्तचर सञ्जाल पनि रहेको र त्यसको भूमिकालाई प्रायः कम आँक्ने गरिएको उल्लेख गरिन् ।

युक्रेन युद्ध र पश्चिमी प्रतिबन्धपछि मस्को र तेहरानबीच सैन्य सहकार्य उल्लेखनीय रूपमा बढेको छ । धेरै विश्लेषकहरूले यो सम्बन्धलाई पश्चिमविरुद्धको साझा स्वार्थमा आधारित अस्थायी साझेदारीका रूपमा व्याख्या गरे पनि ग्राजेव्स्की यससँग सहमत छैनन् । उनका अनुसार दुवै देश आफूलाई विश्व व्यवस्थामा समान प्रकारका चुनौती सामना गरिरहेका राष्ट्रका रूपमा हेर्छन् । युक्रेन युद्धपछि उनीहरूको सहकार्य उल्लेखनीय रूपमा गहिरिएको छ र अहिले त दुवै देश एकअर्कामा धेरै निर्भर भइसकेका छन् ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि इरानले मस्कोलाई साहेद ड्रोन र फतेह–११० ब्यालिस्टिक मिसाइल उपलब्ध गराएको थियो। त्यसपछि दुवै देशबीचको रक्षा सहकार्य अझ बलियो बनेको मानिन्छ ।

गत वर्ष दुवै देशले २० वर्षे व्यापक रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए, जसले रक्षा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको थियो । यद्यपि, रुसी उपविदेशमन्त्री आन्द्रेई रुदेन्कोले उक्त सन्धि सैन्य गठबन्धन वा पारस्परिक सैन्य सहायता सम्झौता नभएको स्पष्ट पारेका थिए ।

रुसले इरानलाई कोमेटा–एम एन्टी–जामिङ नेभिगेसन प्रणाली उपलब्ध गराएर उसका साहेद–१३६ ड्रोनहरूको सटीकता बढाउन सहयोग गरेको आरोप पनि लाग्दै आएको छ । मार्चमा प्रकाशित एक रिपोर्टअनुसार साइप्रसस्थित बेलायती रोयल एयर फोर्सको सैन्य अड्डामाथि गरिएको आक्रमण प्रयासपछि फेला परेको भग्नावशेषमा यही प्रणाली भेटिएको दाबी गरिएको थियो । तर, रुसले द वाल स्ट्रिट जर्नलमा प्रकाशित उक्त रिपोर्टलाई भ्रामक समाचार भन्दै अस्वीकार गरेको छ ।

Logo