ह्याम्स र भारतको म्याक्स अस्पतालबीच रणनीतिक सहकार्य, नेपाली बिरामीले पाउनेछन् अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा

ह्याम्स र भारतको म्याक्स अस्पतालबीच रणनीतिक सहकार्य, नेपाली बिरामीले पाउनेछन् अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले ह्याम्स अस्पतालले भारतको म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्यको घोषणा गरेको छ।

दुवै संस्थाबीचको सहकार्यको औपचारिक घोषणा काठमाडौंमा आयोजित ‘कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू’ विषयक निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रममा गरिएको हो।

ह्याम्स अस्पतालका अनुसार यस सहकार्यबाट जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीका लागि व्यवस्थित रेफरल प्रणाली विकास गरिनेछ। साथै, उपचारअघि विशेषज्ञ परामर्श, उपचारका क्रममा आवश्यक समन्वय तथा उपचारपछिको नियमित फलो–अप सेवालाई पनि एउटै प्रणालीमार्फत प्रभावकारी बनाइने लक्ष्य राखिएको छ।

कार्यक्रममा नेपाल र भारतका कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सा क्षेत्रमा कार्यरत विशेषज्ञहरूले अत्याधुनिक शल्यचिकित्सा प्रविधि, न्यून शल्यक्रिया, जटिल बिरामीको व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नयाँ अभ्यासबारे अनुभव र अनुसन्धान प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै ह्याम्स अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतका कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभागका अध्यक्ष डा. रजनीश मल्होत्रा, थोरेसिक सर्जरी विभागका निर्देशक डा. शैवाल खण्डेलवाल तथा अन्य विशेषज्ञ चिकित्सकलाई स्वागत गरेका थिए।

उनले नेपालमा मुटुरोग तथा कार्डियोथोरेसिक शल्यचिकित्साको विकासमा योगदान पुर्‍याएका डा. भगवान कोइराला, डा. प्रकाश सायमी, डा. रञ्जन सापकोटा, डा. ज्योतिन्द्र शर्मालगायत चिकित्सकहरूको योगदानको पनि प्रशंसा गरे।

भण्डारीले म्याक्स हेल्थकेयरसँगको सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसबाट उपचार प्रक्रियालाई थप व्यवस्थित, समन्वित र बिरामीमैत्री बनाउन मद्दत पुग्नेछ। साथै, दुवै संस्थाका स्वास्थ्यकर्मीबीच ज्ञान, सीप र अनुभवको आदानप्रदानले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सहकार्यअन्तर्गत विशिष्टीकृत उपचार आवश्यक परेका नेपाली बिरामीले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ परामर्श, उपचार योजना, उपचार व्यवस्थापन तथा उपचारपछि नेपालमै नियमित फलो–अप सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ।

ह्याम्स अस्पतालले यस सहकार्यलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। अस्पतालले यसबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय, सुरक्षित र बिरामीकेन्द्रित स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता थप बलियो हुने विश्वास व्यक्त गरेको छ।

Logo