केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ कात्तिक ।
एसिसी यू-१९ एशिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेशका लागि भारत–बंगलादेशबीचको म्याचको परिणाम कुरिरहेको नेपाल भाग्यमानी साबित हुँदै प्रतियोगिताका सेमिफाइनलमा प्रवेश भएको छ । मंगलबार समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि बंगलादेश समूह विजेता बन्यो भने नेपाल समूह उपबिजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
एसिसी यू-१९ क्रिकेटमा नेपाल एशिया कपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।
उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाट माथि उक्लन सकेन र प्रतियोगिताबाटै बाहिरियो ।
डकवर्थ लेविस नियम अनुसार ३२ ओभरमा झारिएको खेलमा १९० रनको लक्ष्य पाएको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । बंगलादेशका लागि पिनाक घोषले सर्वाधिक ८१ रनको नटआउट इनिङ खेले ।
यसअघि रोयल सेलाङगाार क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल ३२ ओभरमा झारिएको थियो ।
समूह एमा बंगलादेशले आफ्ना तीनवटै म्याच जित्यो भने नेपालले बंगलादेशविरुद्ध पराजित हुनुबाहेक दुई म्याच जित्यो ।
बंगलादेशसँग दुई विकेटले हारेको नेपालले भारतलाई १९ रन र मलेसियालाई ८ विकेटले हराएको हो । भारतले दुई म्याचमा पराजय ब्योहोर्नुअघिको खेलमा मलेसियालाई २०२ रनले हराएको थियो ।































प्रतिक्रिया