टोटनहम महत्त्वाकांक्षी रहेको भान डे भेनको दाबी

टोटनहम महत्त्वाकांक्षी रहेको भान डे भेनको दाबी

केन्द्रबिन्दु
6
Shares

सिड्नी । नयाँ सिजनका लागि टोटनहमले मन खुलेर खर्चेको छ, त्यसैले मिकी भान डे भेनलाई लाग्छ, यस इंग्लिस प्रिमियर लिग क्लब महत्त्वाकांक्षी रहेको छ। उनले प्रशिक्षक रोबर्टो डे जेब्री सफल हुने पनि विश्वास पोखे।

गत सिजन टोटनहम अंकतालिकाको १७ औं स्थानमा रहेको थियो र अन्तिम दिनको खेलपछि मात्र रेलिगेसनबाट बच्न सफल रहेको थियो । डे जेब्री आएयता टोटनहमले अहिलेसम्म २३ करोड पाउन्डभन्दा बढी खर्चिसकेको छ।

डिफेन्डर भान डे भेन क्लबसँग नयाँ अनुबन्धका लागि कुराकानी गरिरहेका छन् र यो सफल हुनेमा ढुक्क पनि छन्। उनी सन् २०२३ मा ६ वर्षका लागि टोटनहममा आबद्ध भएका थिए। उनी मान्छन्, जे जस्तो परिवर्तन देखिएको छ, त्यो सुखद छ। अहिले टोटनहम सिड्नीमा नयाँ सिजनको तयारीमा छ र त्यहीँ २५ वर्षीय खेलाडीले भने, ‘अहिले क्लबमा जुन नयाँ आत्मविश्वास देखिएको छ, त्यो सुखद रहेको छ। यो सबै खेलाडीका लागि उत्तिकै महत्त्वपूर्ण पनि छ, विशेषतः लामो समयदेखि क्लबमा रहेकाका लागि। गत सिजन असाध्यै खराब रह्यो। यो कुनै पनि अर्थमा स्वीकार्य थिएन।’ उनी थप्छन्, ‘अब यी सबै परिस्थितिलाई पछाडि छाडेर अगाडि जानु नै ठीक हुन्छ।’

गत सिजन टोटनहमले तीन प्रशिक्षकको नेतृत्वमा खेलेको थियो। सबैभन्दा पहिले आठ महिनाभन्दा कम समय मात्र बिताएर थोमस फ्रान्स बर्खास्तीमा परे। लगत्तै आएका अन्तरिम प्रशिक्षक इगोर टुडर पनि ४४ दिन मात्रै टिके। त्यसपछि डे जेब्रीलाई क्लबको जिम्मेवारी दिइएको हो।

उनका सामु टोटनहमले रेलिगेसनबाट बचाउन सात खेल मात्र बाँकी रहेको थियो। फ्रान्क टोटनहम समर्थकबीच असाध्यै अलोकप्रिय सावित भए। भान डे भेनलाई यसबीच विश्वास छ, डे जेब्रीको नेतृत्वमा टोटनहमले आकर्षक फुटबल मात्र खेल्ने छैन, आम समर्थकको मन जित्ने पनि प्रयास गर्नेछ।

भान डे भेनले थपे, ‘अबको सिजन यसअघिका भन्दा पक्कै पनि फरक हुनेछन्। अब हामी बलमाथि बढी नियन्त्रण राखेर खेल्नेछौं। यो भनेको सक्दो बढी बल खेल्ने शैली हो। यस्तो शैलीमा खेल्न रमाइलो हुन्छ। त्यति मात्र होइन, हामी आक्रामक फुटबल पनि खेल्दै छौं। डे जेब्री आएपछि खेलाडीमा फेरि पुरानो आत्मविश्वास फर्किएको छ, यो सबैभन्दा ठूलो हो।’

अघिल्लो महिना मात्रै टोटनहमले दुई टिमको अन्तरमा दुई कीर्तिमान अनुबन्ध रचेको थियो। त्यस क्रममा वेस्ट ह्यामबाट म्याटेस फर्नान्डेस ८ करोड ५० लाख पाउन्ड र सान्ड्रो टोनाली १० करोड पाउन्डमा न्युकासल युनाइटेडबाट किनेको थियो। यस्तै भान डे भेनका डच साथी खेलाडी जन पउल भान हेक पनि ब्राइटनबाट ५ करोड २० लाख डलरमा टोटनहम आएका छन्। एएफपी

Logo